रास्वपा महाधिवेशनमा कहाँबाट कति प्रतिनिधि हुँदैछन् सहभागी ?

रास्वपा महाधिवेशनमा कहाँबाट कति प्रतिनिधि हुँदैछन् सहभागी ?

चितवन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रथम महाधिवेशनका लागि प्रवास र सातै प्रदेशबाट गरी चार हजार २११ प्रतिनिधि छनोट गरेको छ। 

सचिवालयका अनुसार समायोजन र मनोनयनबाट समेत प्रतिनिधिहरू चुनिएका हुन्। बागमती प्रदेशबाट सबैभन्दा बढी ७९४ र कर्णालीबाट सबैभन्दा कम ३४३ प्रतिनिधिको सहभागिता रहने गरी पालिकादेखि केन्द्रसम्मको प्रतिनिधित्व सुनिश्चित गरिएको छ।

त्यस्तै मधेसबाट ६३०, लुम्बिनीबाट ६२१, गण्डकीबाट ४५४, कर्णालीबाट ३४३ र सुदूरपश्चिमबाट ५०५ जना प्रतिनिधि महाधिवेशनमा सहभागी हुने छन्।

पार्टी सचिवालयका सङ्गठन विभाग सचिव शङ्कर श्रेष्ठका अनुसार ३३ देशका प्रवास सम्पर्क विभागबाट एक सय ७० जना,  विधानअनुसार पार्टी सभापतिबाट १३८ जना मनोनयन भइसकेका छन् भने समूहगत रूपमा पार्टी प्रवेश गरेकालाई १९२ जनालाई चयन गरिएको छ।

महाधिवेशन प्रतिनिधिका रूपमा पालिका सभापति, क्षेत्रीय सभापति र उपसभापति, जिल्ला सभापतिसहित पाँच जना प्रतिनिधि रहने व्यवस्था गरिएको छ। प्रदेश समितिका सबै सदस्यहरू, प्रदेशस्तरीय विभाग, अनुशासन आयोग र सल्लाहकार परिषद्का पदाधिकारी पनि प्रतिनिधि भएका छन्।

यसैगरी, सङ्घीय नेतृत्व मञ्चका सबै केन्द्रीय सदस्य, केन्द्रमा रहेका ३८ वटा विभागबाट ११-११ जनाका दरले सदस्य तथा केन्द्रीय निर्वाचन आयोग, अनुशासन आयोग र लेखा आयोगबाट ११-११ जनाको प्रतिनिधित्व भएको छ।

प्रत्येक गाउँपालिकाबाट एक जना, नगरपालिकाबाट दुई जना, उपमहानगरपालिकाबाट तीन जना र महानगरपालिकाबाट चार जना प्रतिनिधि भएका छन्।

प्रदेश सम्पर्क विभागबाट तीन-तीन जना र जिल्ला सम्पर्क विभागबाट एक-एक जना प्रतिनिधि हुने व्यवस्था छ। गत प्रतिनिधिसभा निर्वाचनमा रास्वपाका तर्फबाट पराजित तथा समानुपातिक सूचीका व्यक्ति पनि प्रतिनिधि भएका छन्।

साथै, २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा पराजित समानुपातिक सूचीका र पार्टीमा सक्रिय व्यक्तिलाई पनि प्रतिनिधि बनाइएको छ। केन्द्रीय समितिमा नरहेका प्रतिनिधिसभा सदस्य पनि महाधिवेशन प्रतिनिधि भएका छन्।

असार ७, २०८३ आइतबार १०:०५:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।