पोखराका बास्तोला कम्प्लेक्सका ३२० सटर हटाइए, लालपुर्जा भएका जग्गाधनीमाथि छानबिन
कास्की : पोखरा महानगरपालिकाले प्रस्तावित बसपार्कको जग्गा खाली गराउने अभियानअन्तर्गत पृथ्वीचोकस्थित सेती नदीपट्टिको बास्तोला कम्प्लेक्समा रहेका ३२० सटरलगायतका संरचना शनिबार डोजर प्रयोग गरी हटाएको छ।
महानगरपालिका र जग्गाधनीबीचको आपसी सहमतिपछि पोखरा बसपार्क निर्माणको कार्यलाई अघि बढाउन उक्त अनधिकृत संरचनाहरू हटाइएको हो।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले कम्प्लेक्सका सञ्चालक र त्यहाँ व्यवसाय गरेर बसिरहेका व्यवसायीसँग निरन्तर छलफल तथा संवादपछि खाली गर्ने सहमति भएको बताए। उनका अनुसार बसपार्क निर्माण गर्ने अभियानमा सहयोग गर्ने समझदारीका साथ कम्प्लेक्स पूर्ण रूपमा हटाइएको हो।
“हामीले जग्गाधनीसँग सहमति गरेका थियौं। सोहीअनुसार खाली गरिएको हो। सुकुमबासी बस्तीमा भने व्यवस्थापन नगरी हटाउने छैनौं”, उनले भने। महानगरले यसअघि असार ४ गते बसपार्क प्रवेशद्वारमा रहेका सटरमा डोजर चलाएको थियो।
महानगरपालिकाले खाली गरेको बास्तोला कम्प्लेक्सको जग्गा व्यक्तिका नाममा दर्ता भएको पाइएको छ। विसं २०३० मा बसपार्कका लागि अधिग्रहण गरिएको भए पनि पछि पोखरा उपत्यका नगर विकास समितिले अधिग्रहित जग्गाभित्र सट्टाभर्ना तथा घडेरी वितरण गर्ने निर्णय गरेको थियो।
महानगरले पछिल्लो समय जग्गा सट्टाभर्नाको निर्णयलगायतका विषयमा छानबिनका लागि पूर्व न्यायाधीशको नेतृत्वमा न्यायिक समितिसमेत गठन गरेको छ। सो समितिको प्रतिवेदन अझै पेस हुन सकेको छैन। महानगर प्रमुख आचार्यले लालपुर्जा भएका जग्गाधनीको छानबिन पनि द्रुतगतिमा भइरहेकाले केही दिनमै वास्तविकता सार्वजनिक हुने बताए।
पोखरा-९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले बसपार्कको सम्पूर्ण जग्गा खाली गरिने बताए। उनले बसपार्कको जग्गा अतिक्रमण गरी बसेका सुकुमबासीलाई वैकल्पिक व्यवस्थापनको काम पनि अघि बढाइएको बताए। महानगरले यही असार ४ गतेदेखि बसपार्कका संरचना हटाउन सुरु गरेको हो।
“बसपार्कको ठूलो क्षेत्रभित्र बसेका वास्तविक सुकुमबासीको अन्यत्र व्यवस्थापन गरेर मात्र सो क्षेत्रमा डोजर चल्छ। अहिले सुकुमबासीको अन्यत्र जग्गा भए/नभएको बारेमा छानबिन भइरहेको छ”, वडाध्यक्ष मर्सानीले भने।
महानगरले सुकुमबासी बस्तीका ५७२ परिवारमध्ये हालसम्म ३३७ परिवारको ‘डकुमेन्ट भेरिफिकेसन’ सम्पन्न भएको र बाँकीको समेत छिट्टै सकिने जनाएको छ। महानगर प्रमुख आचार्यले केही सुकुमबासीले तीन पुस्ते सही विवरण नदिएको तथा झुटा विवरणसमेत दिएको पाइएको बताउँदै छानबिनका लागि समय लागेको बताए।
असार ७, २०८३ आइतबार ०८:०७:३५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।