रास्वपाको निर्वाचन कार्यतालिका सार्वजनिक, असार ९ गते मतदान
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय निर्वाचन आयोगले भोलि (आइतबार)देखि सुरु हुने पहिलो राष्ट्रिय महाधिवेशनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ।
आयोगले सार्वजनिक गरेको तालिकाअनुसार पार्टीको नयाँ नेतृत्व र केन्द्रीय समिति चयन गर्न असार ९ गते मतदान हुनेछ। मतदानको लागि बिहानको साढे आठ बजेदेखि दिउसो तीन बजेसम्मको समय तोकिएको छ।
केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीद्वारा जारी कार्यतालिकाअनुसार निर्वाचन प्रक्रिया असार ६ गते राति साढे आठ बजे महाधिवेशन प्रतिनिधिहरूको प्रारम्भिक नामावली प्रकाशन गरेसँगै सुरु हुनेछ। असार ७ गते प्रतिनिधिहरूमाथि दाबी-विरोधका लागि समय दिइएको छ भने सोही दिन राति ११ बजे प्रतिनिधिको अन्तिम नामावली प्रकाशन गरिनेछ।
उम्मेदवारी दर्ताका लागि असार ८ गतेको समय तोकिएको छ। सोही दिन दिउँसो २ बजेदेखि ४ बजेसम्म मनोनयन पत्र दर्ता हुनेछ। उम्मेदवारहरूमाथिको दाबी-विरोध र नाम फिर्तालगायतका प्रक्रिया पूरा गरी सोही दिन राति ११ बजे उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक गर्ने कार्यतालिकामा उल्लेख छ।
निर्धारित तालिकाअनुसार पहिलो चरणअन्तर्गत पार्टीको नयाँ नेतृत्व र केन्द्रीय समिति चयनका लागि असार ९ गते बिहान साढे आठ देखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ।
मतदान सम्पन्न भएको दुई घण्टापछि मतगणना सुरु गरी मतपरिणाम घोषणा गरिने आयोगले जनाएको छ। आयोगका अनुसार पहिलो चरणको निर्वाचनपछि आवश्यक परेमा दोस्रो चरणको निर्वाचन कार्यक्रम पछि सार्वजनिक गरिनेछ।
असार ६, २०८३ शनिबार २२:३३:११ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।