'अभियानबाट वास्तविक राजनीति'मा जाँदै रास्वपा: पहिलो महाधिवेशनबाट १९ पदाधिकारी र १५८ सदस्यीय केन्द्रीय समिति बन्ने

'अभियानबाट वास्तविक राजनीति'मा जाँदै रास्वपा: पहिलो महाधिवेशनबाट १९ पदाधिकारी र १५८ सदस्यीय केन्द्रीय समिति बन्ने
तस्बिर : नेपाल न्युज बैैक

काठमाडौं : पार्टी स्थापनाको चार वर्ष तदर्थ समितिमा चलेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ऐतिहासिक पहिलो राष्ट्रिय महाधिवेशन भोलि (आइतबार) देखि चितवनमा सुरु हुँदैछ। तीन दिनसम्म चल्ने यस महाधिवेशनले पार्टीको नयाँ नेतृत्व र केन्द्रीय समिति चयन गर्नेछ।

महाधिवेशनको पूर्वसन्ध्यामा शनिवार चितवनको भरतपुरमा बसेको पार्टीको केन्द्रीय समिति बैठकले संशोधित विधान पारित गर्दै चुनावी कार्यतालिकासमेत सार्वजनिक गरिसकेको छ। केन्द्रीय समिति बैठकले पारित गरेको संशोधित विधान अनुसार अब रास्वपाको पदाधिकारी संख्या १९ जनाको हुनेछ।

नयाँ व्यवस्था अनुसार पदाधिकारीहरूमा सभापति- १, वरिष्ठ नेता- १,उपसभापति- ३ (१ जना महिला अनिवार्य), महामन्त्री- २, सहमहामन्त्री- ५ (१ जना महिला अनिवार्य), कोषाध्यक्ष- १, सह कोषाध्यक्ष- २, प्रवक्ता- १ र सह प्रवक्ता ३ जना रहनेछन्।

नयाँ विधान अनुसार सभापति, ३ उपसभापति, २ महामन्त्री, ५ सहमहामन्त्री, १ कोषाध्यक्ष र प्रवक्ता स्वतः सचिवालय सदस्य हुनेछन् भने बाँकी सचिवालय सदस्यहरू सभापतिले मनोनीत गर्नेछन्।

नयाँ विधान अनुसार रास्वपाको केन्द्रीय समिति कुल १५८ सदस्यीय (१५१ + ७ प्रदेश सभापति) हुनेछ। जसमा ९९ जना निर्वाचनबाट चुनिनेछन् भने ५१ जना सदस्य सभापतिले मनोनीत गर्नेछन्। ७ वटै प्रदेशका पार्टी सभापतिहरू भने केन्द्रीय समितिमा स्वतः पदेन सदस्य रहनेछन्।

प्रारम्भमा अधिकांश पदमा प्रतिस्पर्धा गराउनेगरि विधानको मस्यौदा बनाइए पनि पछि सभापतिको मनोनयन कोटा बढाइएको थियो। यसमा पार्टीमा लोकतान्त्रिक विधि भन्दा पनि आशीर्वादबाट नेतृत्व स्थापित गर्ने अभ्यास भएको भन्दै आलोचना समेत भएको थियो। यस विषयमा स्पष्टीकरण दिँदै सभापति रवि लामिछानेले यसलाई 'विशेष परिस्थिति' भन्दै आफूले अतिरिक्त अधिकार प्रयोग गर्ने अभ्यास नगरेको दाबी गरेका थिए।

मंगलबार मतदान, दुई घण्टामै मत परिणाम

केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार नयाँ नेतृत्व चयनका लागि आगामी ९ गते (मंगलबार) मतदान हुनेछ। मंगलबार बिहान साढे ८ बजेदेखि दिउँसो ३ बजेसम्म मतदानको समय तय गरिएको छ। मतदान सकिएको दुई घण्टाभित्रै मतगणना सुरु गरिने कार्यतालिकामा उल्लेख छ।

५ लाख नाघे साधारण सदस्य, ३९१८ प्रतिनिधि सहभागी

रास्वपाका प्रवक्ता मनिष झाले पार्टीको साधारण सदस्यको संख्या ५ लाख नाघिसकेको जानकारी दिए। महाधिवेशनको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले देशका ४ हजार ६३ वडा, ७५३ मध्ये ६१० पालिका, १६५ मध्ये १०० क्षेत्रीय निर्वाचन क्षेत्र र ७७ मध्ये ६३ जिल्लामा अधिवेशन सम्पन्न भइसकेको बताए।

बाँकी १३ जिल्लाबाट तदर्थ समितिमार्फत प्रतिनिधि सहभागी भएका छन् भने ६ वटा प्रदेशको अधिवेशन सकिएको र मधेस प्रदेशको प्राविधिक कारणले केही बाँकी रहेको उनले बताए। हालसम्म महाधिवेशनका लागि ३ हजार ९१८ जना प्रतिनिधि दर्ता भइसकेका छन्।

'निर्वाचनको मत आम्दानी मात्रै हो, अब सम्पत्तिमा बदल्छौँ'

पत्रकार सम्मेलनमा प्रवक्ता झाले प्रतिनिधिसभा निर्वाचनमा प्राप्त नतिजा पार्टीको ‘आम्दानी’ मात्र भएको र अब यस महाधिवेशनमार्फत त्यसलाई संस्थागत गर्दै 'सम्पत्ति' मा रूपान्तरण गरिने टिप्पणी गरे।

"हामी अब धेरै हदसम्म अभियानबाट वास्तविक राजनीतिमा रूपान्तरण हुँदैछौँ," झाले भने।

महाधिवेशनको पूर्वसन्ध्यामा सभापति लामिछानेले आफ्नो कार्यकाल ऐतिहासिक रहेको बताउँदै विभिन्न राजनीतिक दल त्यागेर रास्वपालाई घर बनाएका सम्पूर्ण नेता-कार्यकर्तालाई धन्यवाद दिए। उनले यो महाधिवेशनले मुलुकलाई निकास दिन ठूलो एकताको सन्देश दिने विश्वास व्यक्त गरे।

असार ६, २०८३ शनिबार २२:१२:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।