आगामी मंसिरमा केन्द्रीय महाधिवेशन गर्ने राप्रपाको निर्णय, मूल आयोजक समिति गठन
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आगामी मंसिर २६ देखि २८ गतेसम्म काठमाडौंमा पार्टीको केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको छ। शुक्रबार र शनिबार बसेको केन्द्रीय समितिको बैठकले महाधिवेशन गर्न अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा महाधिवेशन मूल आयोजक समितिसमेत गठन गरेको छ।
आयोजक समितिमा पार्टीका केन्द्रीय कार्यसम्पादन समितिका सदस्य, पदाधिकारी, केन्द्रीय सदस्य, सल्लाहकार, विभिन्न विभागका प्रमुख, प्रदेश तथा जिल्ला अध्यक्ष, सांसद र भातृ संगठनका अध्यक्षहरू रहने छन्। आवश्यकता अनुसार थप उपसमितिहरू गठन गर्ने अधिकार केन्द्रीय कार्यसम्पादन समितिलाई दिइएको छ।
बैठकले महाधिवेशनका लागि संगठनात्मक निर्वाचन सम्बन्धी कार्यतालिका समेत सार्वजनिक गरेको छ। जसअनुसार आगामी भदौ मसान्तभित्र जिल्ला अधिवेशनहरू सम्पन्न गरिसक्नुपर्नेछ। भदौसम्म जिल्ला अधिवेशन गर्ने जिल्लाले मात्र केन्द्रीय महाधिवेशनमा भाग लिन पाउने प्रावधान राखिएको छ। त्यस्तै, आगामी असोज १५ देखि २४ गतेसम्म सात वटै प्रदेशको अधिवेशन सम्पन्न गरिने कार्यतालिका छ।
सक्रिय सदस्यता वितरण कार्यलाई भदौ मसान्तसम्म अभियानका रूपमा सञ्चालन गरिनेछ। सो अवधिभित्र सदस्यता प्राप्त गरेका व्यक्ति मात्र महाधिवेशन प्रतिनिधिको मतदाता र उम्मेदवार हुन योग्य हुनेछन्। प्रतिनिधि छनौटको प्रक्रिया कार्तिक ११ देखि ३० गतेसम्म चल्नेछ भने छनौट गर्दा युवा प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने व्यवस्था मिलाइएको छ। छनौट भएका प्रतिनिधिको विवरण मंसिर ७ गतेभित्र केन्द्रमा बुझाउनुपर्नेछ।
बैठकले सक्रिय सदस्यता वितरण निर्देशिका, सांगठनिक तह निर्वाचनसम्बन्धी नियमावली र पार्टीको निर्वाचन निर्देशिकालाई परिमार्जनसहित पारित गरेको छ। अध्यक्ष लिङ्देनले एउटा निर्वाचनको परिणामले पार्टीको भविष्य निर्धारण नगर्ने भन्दै विचलित नभई उच्च मनोबलका साथ संगठन सुदृढीकरणमा जुट्न पार्टीका सदस्यहरूलाई आह्वान गरे।
असार ६, २०८३ शनिबार १९:४६:४८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।