बालकुमारीमा प्रहरीको गोली लागेर 'क्रोनिक' लागुऔषध कारोबारी पक्राउ, ६ महिनाअघि मात्रै छुटेका थिए जेलबाट
काठमाडौं : काठमाडौंको बालकुमारीस्थित पुलमुनी लागूऔषध खैरो हेरोइनको कारोबार गरिरहेको अवस्थामा प्रहरीले गोली हानेर तीन जनालाई पक्राउ गरेको छ।
लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको विशेष टोलीले चलाएको अपरेसनका क्रममा प्रहरीमाथि नै आक्रमण गरी भाग्न खोजेपछि गोली चलाएर तीन जनालाई नियन्त्रणमा लिइएको हो।
भारतको वासमतियाबाट काठमाडौं उपत्यकासम्म खैरो हेरोइन ल्याई बिक्री गरिरहेको भन्ने विशेष सूचनाका आधारमा ब्यूरोको टोलीले आज अपरेशन चलाएको थियो। ब्यूरोबाट खटिएको प्रहरी टोलीले कारोबारीहरूलाई नियन्त्रणमा लिन खोज्दा उनीहरूले प्रहरीमाथि नै आक्रमण गरी भाग्ने प्रयास गरेका थिए । प्रहरीले चेतावनी स्वरूप २ राउण्ड हवाई फायर गर्दा समेत नरोकी भागेपछि प्रहरीले गोली चलाएको हो।
प्रहरीको गोली लागेर ३९ वर्षीय किशोर प्रसाद ओझैयाको दाहिने खुट्टाको घुँडामुनी एक राउण्ड गोली लागेको छ। घाइते ओझैयालाई तत्कालै उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर पुर्याइएको र हाल उनको अवस्था सामान्य रहेको ब्यूरोले जनाएको छ।
पर्साको पटेर्वा सुगौली गाउँपालिका–४ घर भएका ओझैया यसअघि पनि लागुऔषध मुद्दामै ३ वर्ष कैद र १ लाख ४ हजार रुपैयाँ जरिवाना भुक्तान गरेर गत २०८२ साल पुस १७ गते मात्रै नख्खु कारागारबाट छुटेका ‘क्रोनिक’ कारोबारी हुन्। कारागारबाट छुटेको ६ महिना नपुग्दै उनी पुनः लागूऔषध खैरो हेरोइनको कारोबारमा सक्रिय भएको पाइएको छ।
प्रहरीका अनुसार, उनीसँगै कारोबारमा संलग्न कैलालीको टिकापुर नरगपालिका ५ घर भएका २५ वर्षीय अशोक भुल र सप्तरीको राजगढ गाउँपालिका ३ घर भएका २० वर्षीय निरज कुमार मण्डल पक्राउ परेका छन्।
प्रहरीले उनीहरूको साथबाट तीन सय ग्राम खैरो हिरोइन, मोबाइल ४ थान बरामद गरेको छ।
पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
असार ६, २०८३ शनिबार १८:१७:०४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।