कम्युनिस्टहरूलाई नेपालको सुझाव : सबै कुरा बिग्रियो भन्नु निराशाको प्रचार, रोग पत्ता लगाएर मात्र उचित उपचार
काठमाडौं : नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालले नेपालको कम्युनिस्ट आन्दोलन विभिन्न राजनीतिक उथलपुथल, उतारचढाव र संघर्षका बीचबाट अघि बढेको बताएका छन्।
शनिबार काठमाडौंमा नेपाल बुद्धिजीवी संगठनको एकता राष्ट्रिय भेलामा उनले कम्युनिस्टहरू निर्वाचनको परिणामबाट निराश नहुने बरु त्यसबाट शिक्षा लिएर अघि बढ्ने उल्लेख गरे।
नेपालले प्रतिगामी शक्तिहरूलाई चुनौती दिँदै नयाँ इतिहास रच्न कम्युनिस्टहरूको ठूलो भूमिका रहेको चर्चा गरे। २०७९ सालको निर्वाचनपश्चात् राजनीतिमा ठूलो परिवर्तन देखिएको र हालैको २०८२ सालको निर्वाचन परिणाम पार्टीका लागि एउटा महत्त्वपूर्ण शिक्षा भएको उनको भनाइ थियो।
नेपालले भने, "२०७९ सालको निर्वाचनपश्चात् निकै ठूलो परिवर्तन देखा परेको छ। अहिलेको ०८२ सालको चुनावले कल्पना नगरेको परिणाम प्राप्त गरेका छौं। यो हाम्रा लागि निकै ठूलो शिक्षा पनि हो। अब आफूभित्र आत्मचिन्तन र मन्थन गर्नुपर्ने आवश्यकता छ।"
केहीले सबै कुरा बिग्रिएको भनेर निराशाको प्रचार गरिरहेको उल्लेख गर्दै उनले वर्तमान विश्व परिस्थितिलाई निराशा र सम्भावनाका दुवै पक्षबाट हेर्नुपर्ने बताए।
उनले भने, "अहिले हामी जुन विश्वमा बाँचेका छौं, जुन अवस्थामा उभिएका छौं, यसका दुई वटा पाटा छन्। कसै कसैले निराशा देखिरहेका छन्, सबै बरबाद भयो भन्ने मात्र ठानिरहेका छन्। र उनीहरूले निराशाको प्रचार गरिरहेका छन्। अर्कोतर्फ निराशालाई वास्तै नगरी एउटै पाटोलाई मात्रै हेरेर चल्ने पनि प्रवृत्ति हुनसक्छ।"
कम्युनिष्टहरू द्वन्द्ववादी दृष्टिकोणमा विश्वास गर्ने भएकाले जटिलता र सम्भावना, निराशा र आशा दुवैलाई सँगसँगै विश्लेषण गर्नुपर्ने उनको भनाइ थियो। निराशा चिर्नका लागि त्यसका कारण पहिचान गरी समाधान खोज्नुपर्नेमा जोड दिँदै उनले रोगको पहिचान नगरी उचित उपचार सम्भव नहुने उल्लेख गरे। वास्तविक अवस्था पहिला बुझ्न आवश्यक रहेको उनको भनाइ थियो ।
उनले भने, "हामी द्वन्द्ववादी हौं। जटिलतालाई पनि हेर्छौं, सम्भावनालाई पनि हेर्छौं। निराशालाई पनि हेर्छौं, आशालाई पनि हेर्छौं। निराशा कसरी चिर्नुपर्छ, त्यसको उपाय पनि खोज्छौं । पहिला रोग पत्ता लगाउनुपर्छ। रोग पत्ता लगाएनौं भने उचित उपचार दिन सक्दैनौं। वास्तविकता पहिला पत्ता लगाउनुपर्छ।"
कम्युनिस्टहरू निराश नभई आशावादी भएर अगाडि बढ्नुपर्ने भन्दै नेपालले अब पार्टीभित्र आत्मचिन्तन र मन्थन गरेर सबै खालका चुनौतीको सामना गर्नुपर्नेमा जोड दिए। उनले भने, "हामी कम्युनिस्टहरू निराश हुने होइन, आशावादी हुने हो।"
असार ६, २०८३ शनिबार १८:११:२८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।