रास्वपा कहिल्यै लोकतन्त्रबाट विमुख हुँदैन : रवि लामिछाने

रास्वपा कहिल्यै लोकतन्त्रबाट विमुख हुँदैन : रवि लामिछाने

चितवन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो पार्टी लोकतन्त्रबाट कहिल्यै विमुख नहुने बताएका छन्। 

शनिबार रास्वपाको पहिलो महाधिवेशनको पूर्वसन्ध्यामा आयोजित केन्द्रीय समिति बैठकमा बोल्दै उनले लोकतन्त्रबाट आफूहरू कदापि विमुख नहुने प्रतिबद्धता व्यक्त गरे।

उनले भने, “सङ्घीय लोकतान्त्रिक गणतन्त्र, देशको संविधान  मुलुकलाई अहिलेको अवस्थामा ल्याउन योगदान गरेकाहरूको जगमा हामी उभिएका छौँ, हामीलाई यसमा गर्व छ। हामी गर्वका साथ यो परिवर्तनको सँघारमा उभिएका छौँ। लोकतन्त्रबाट विमुख हुनेछैनौँ।” 

राजनीतिक दलहरूमा आन्तरिक लोकतन्त्र बलियो हुनुपर्नेमा जोड दिँदै उनले आन्तरिक लोकतन्त्र मजबुत नभए कुनै न कुनै बिन्दुमा पुगेर दुर्घटना निम्तिने चेतावनी दिए।

उनले भने, “एउटा घरमा पनि दुर्घटना र समाजमा हुने दुर्घटना भन्दा राजनैतिक पार्टीमा हुने दुर्घटनाको निकै ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ।” 

सभापति लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताहरूलाई आफू जुनसुकै भूमिकामा रहे पनि सधैँ जिम्मेवार नागरिकका रूपमा प्रस्तुत हुन र अस्वस्थ प्रतिस्पर्धाबाट टाढा रहन निर्देशन दिए।

"पार्टी जहाँ आएको छ यहाँहरूको अनवरत साथ, विश्वास र मिहेनतका साथ आएको छ," उनले भने, "त्यसकारण म साथीहरूलाई स्वस्थ प्रतिस्पर्धाका लागि आग्रह गर्न चाहन्छु। स्वस्थ प्रतिस्पर्धाबाट हामी नयाँ उचाइमा पुग्नेछौं।"

यो महाधिवेशनले पार्टीलाई अझ बढी व्यवस्थित, परिपक्व र गतिशील बनाउने विश्वास समेत उनले व्यक्त गरे।

असार ६, २०८३ शनिबार १७:१२:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।