रास्वपाको पहिलो महाधिवेशनमा तीन राष्ट्रिय दलका शीर्ष नेता नजाने पक्का

रास्वपाको पहिलो महाधिवेशनमा तीन राष्ट्रिय दलका शीर्ष नेता नजाने पक्का

चितवन : चितवनको भरतपुरमा हुने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशन हुँदैछ।

आइतबार भरतपुरको गेष्टहाउस चौरमा र बन्दसत्र उद्योग सङ्घको प्रदर्शनी केन्द्रमा हुने महाधिवेशनका लागि पार्टी सभापति रवि लामिछानेसहितका नेताहरू चितवन पुगिसकेका छन् भने प्रधानमन्त्री एवं पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह आइतबार चितवन आउने कार्यक्रम रहेको छ।

महाधिवेशन प्रतिनिधिका रूपमा पालिका सभापति, क्षेत्रीय सभापति र उपसभापति, जिल्ला सभापतिसहित पाँच जना, र प्रदेश समितिका सबै सदस्यहरू रहने व्यवस्था छ।

यसका साथै केन्द्रीय विभाग, अनुशासन आयोग, सल्लाहकार परिषद्, केन्द्रीय निर्वाचन आयोग, लेखा आयोग र सङ्घीय नेतृत्व मञ्चका सदस्यहरू पनि प्रतिनिधि हुनेछन्। प्रत्येक स्थानीय तहबाट जनसङ्ख्याका आधारमा न्यूनतम एकदेखि अधिकतम चार जनासम्म प्रतिनिधि चयन भएका छन्।

करिब चार हजारभन्दा बढी प्रतिनिधि सहभागी हुने महाधिवेशनमा विभिन्न दलका शीर्ष नेताहरूलाई निम्ता दिइएको छ। तर महाधिवेशनमा संसद्मा प्रतिनिधित्व गर्ने ६ प्रमुख राष्ट्रिय दलमध्ये चार दलका शीर्ष नेताहरू सहभागी नहुने भएका छन्।

महाधिवेशनमा एमाले, नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीका शीर्ष नेताहरू नजाने पक्का हुँदा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष मात्र सहभागी हुने निश्चित भएको छ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले महाधिवेशनमा पार्टीका तर्फबाट प्रतिनिधि कसलाई पठाउने भन्ने अहिलेसम्म पक्का नभएको उपसभापति विश्वप्रकाश शर्माले जानकारी दिए।

उनले उकेरासँग भने, ‘अहिलेसम्म को जाने भन्ने पक्का भएको छैन, बेलुकासम्म सल्लाह गरेर सार्वजनिक गर्नेछौँ। को जाने भन्नेबारेमा अहिलेसम्म सल्लाह भएको छैन।’

एमालेका तर्फबाट भने नेता प्रदीप ज्ञवाली सहभागी हुनेछन्। एमाले केन्द्रीय सदस्य निरु पालले पार्टीका पदाधिकारीहरू व्यस्त भएका कारण ज्ञवालीलाई पठाउन लागिएको पुष्टि गरिन्।

उनले भनिन्, ‘पार्टीका पदाधिकारीहरू सबै सुदूरपश्चिमतिर हुनुहुन्छ। त्यसो भएको हुनाले प्रदीप ज्ञवाली कमरेडलाई जान भन्नुभएको छ पार्टी अध्यक्षले।’

नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट वर्षमान पुन सहभागी हुने भएका छन्। पार्टी संयोजक बिरामी परेका कारण प्रतिनिधि पठाइएको भन्ने चर्चाको खण्डन गर्दै प्रवक्ता प्रकाश ज्वालाले भने।

‘पार्टी संयोजकज्यू बिरामी हुनुभएको छैन। हिजोको कार्यक्रममा त्यति लामो सम्बोधन गर्नुभयो कहाँ बिरामी हुनुहुन्छ। पार्टीका संयोजक र सहसंयोजकको सल्लाह बमोजिम वर्षमान पुनलाई पठाउन लागिएको हो’, उनले उकेरासँग भने।

राप्रपाबाट भने अध्यक्ष राजेन्द्र लिङ्देन आफैँ महाधिवेशनमा सहभागी हुन चितवन जाने भएका छन्। राप्रपाकी सचेतक खुश्बु ओलीले यसबारे उकेरालाई जानकारी दिइन्।

उनले भनिन्, ‘पार्टीको प्रतिनिधित्व गरेर हाम्रो अध्यक्ष राजेन्द्र लिङ्देन जाँदै हुनुहुन्छ।’

यसैबीच, श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले आफू महाधिवेशनमा सहभागी नहुने कुरा सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिसकेका छन्। पार्टीका तर्फबाट कसलाई पठाउने भन्ने विषयमा अझै टुङ्गो लाग्न नसकेको सांसद आरेन राईले जानकारी दिए।

उनले भने, ‘अध्यक्षज्यू बाहिर हुनुहुन्छ। म पनि बाहिर जाँदैछु आज। पठाउने त भनेको। सबै साथीहरु बाहिर बाहिर छन्। कोही दार्चुला छन् कोही पूर्वको अभियानमा हुनुहुन्छ। ढिलो गरी खबर भयो। नजाने भन्ने मनसाय त हैन। तर को पठाउने भन्ने फिक्स भाको छैन।’

असार ६, २०८३ शनिबार १३:४२:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।