रास्वपाको महाधिवेशनमा चार हजारभन्दा बढी प्रतिनिधि सहभागी हुने

रास्वपाको महाधिवेशनमा चार हजारभन्दा बढी प्रतिनिधि सहभागी हुने

चितवन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनमा ४ हजार २ सयभन्दा बढी प्रतिनिधि सहभागी हुने भएका छन्। केन्द्रीय सचिवालयका अनुसार प्रारम्भिक तथ्याङ्कले प्रतिनिधिको संख्या ४ हजार २१० पुग्ने देखाएको छ।

सङ्गठन विभाग सचिव शङ्कर श्रेष्ठका अनुसार हालसम्मको विवरणमा ३ हजार ८१० प्रतिनिधि सुनिश्चित भइसकेका छन्। यसमा २५ देशमा रहेका प्रवास सम्पर्क विभागबाट करिब २०० प्रतिनिधि थपिनेछन्।

पार्टी विधानअनुसार सभापतिले २०० प्रतिनिधि मनोनयन गर्न पाउने व्यवस्था रहेको छ। साथै, समूहगत रूपमा पार्टी प्रवेश गर्ने सदस्यहरूबाट समेत केही प्रतिनिधि थपिन सक्ने श्रेष्ठले बताए। 

प्रतिनिधिको प्रारम्भिक सूचीमाथि दाबी–विरोध, दोहोरो नाम र छुटेका विवरण सच्याएर अन्तिम नामावली सार्वजनिक गरिनेछ। आज बस्ने केन्द्रीय समिति बैठकमा सभापतिबाट मनोनीत प्रतिनिधिको नाम प्रस्तुत भएपछि साँझसम्म अन्तिम सूची तयार हुने उनले जानकारी दिए। 

प्रारम्भिक तथ्याङ्कअनुसार कोशी प्रदेशबाट प्र्रतिनिधिको सङ्ख्या ५२० रहेको छ। मधेसबाट ६३०, बागमतीबाट ७९०, लुम्बिनीबाट ४९०, गण्डकीबाट ४७०, कर्णालीबाट ३६० र सुदूरपश्चिमबाट ५५० जना प्रतिनिधि महाधिवेशनमा सहभागी हुने उनले बताए।
    
महाधिवेशन प्रतिनिधिका रुपमा पालिका सभापति, क्षेत्रीय सभापति र उपसभापति, जिल्ला सभापतिसहित पाँच जना, प्रदेश समितिका सबै सदस्यहरु रहने व्यवस्था छ। 

यसैगरी, प्रदेशको विभाग, अनुशासन आयोग र सल्लाहकार परिषद्का पदाधिकारी प्रतिनिधि हुने व्यवस्था छ। सङ्घीय नेतृत्व मञ्चका सबै केन्द्रीय समितिका सबै, केन्द्रमा रहेको ३८ वटा विभागका ११ जनाका दरले सदस्य र केन्द्रीय निर्वाचन आयोग, अनुशासन आयोग र लेखा आयोगका ११ जनाका दरले प्रतिनिधि हुनेछन्। 

प्रत्येक गाउँपालिकाबाट एक जना, नगरपालिकाबाट दुई जना, उपमहानगरपालिकाबाट तीन जना र महानगरपालिकाबाट चार जना प्रतिनिधि हुनेछन्। प्रदेश सम्पर्क विभागबाट तीन जनाका दरले र जिल्ला सम्पर्क विभागबाट एक–एक जनाका दरले प्रतिनिधि हुने व्यवस्था छ। 
    
गत प्रतिनिधिसभा सदस्य निर्वाचनमा रास्वपाकातर्फबाट उपविजेता र समानुपातिक सूचीमा रहेका प्रतिनिधि हुनेछन्। यस्तै २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा उपविजेता र समानुपातिक बन्दसूचीमा रही पार्टीमा सक्रिय भएका पनि प्रतिनिधि रहनेछन्। केन्द्रीय समितिमा नरहेका प्रतिनिधिसभा सदस्यसमेत प्रतिनिधि हुने व्यवस्था छ।

महाधिवेशनको उद्घाटन सत्र आइतबार भरतपुरस्थित गेष्टहाउस चौरमा आयोजना हुनेछ भने बन्दसत्र उद्योग सङ्घको प्रदर्शनी केन्द्रमा सञ्चालन गरिनेछ। महाधिवेशनका लागि पार्टी सभापति रवि लामिछानेसहित शीर्ष नेताहरू चितवन पुगिसकेका छन्। वरिष्ठ नेता वालेन्द्र शाह पनि आइतबार चितवन आउने कार्यक्रम रहेको छ।

असार ६, २०८३ शनिबार १३:२३:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।