गण्डकी प्रदेशमा १ लाख ४१ हजार सवारीसाधनमाथि कारबाही, साढे १२ करोड बढी राजस्व सङ्कलन

गण्डकी प्रदेशमा १ लाख ४१ हजार सवारीसाधनमाथि कारबाही, साढे १२ करोड बढी राजस्व सङ्कलन

कास्की : गण्डकी प्रदेशमा चालु आर्थिक वर्षको जेठ मसान्तसम्म ट्राफिक नियम उल्लङ्घन गर्ने १ लाख ४१ हजारभन्दा बढी सवारीसाधन कारबाहीमा परेका छन्। ती कारबाहीबाट साढे १२ करोड रुपैयाँभन्दा बढी राजस्व संकलन भएको छ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पोखराका अनुसार चालु आर्थिक वर्षको ११ महिनामा प्रदेशका ११ वटै जिल्लामा गरी जम्मा १ लाख ४१ हजार ६३० सवारीसाधनलाई कारबाही गरिएको हो।

यसबाट कुल १२ करोड ६९ लाख ४९ हजार ६८ रुपैयाँ राजस्व सङ्कलन भएको कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक (एसपी) गोविन्दराज काफ्लेले जानकारी दिए।

कार्यालयका अनुसार सबैभन्दा बढी कारबाही क्षमताभन्दा बढी यात्रु बोक्ने सवारीसाधनमाथि भएको छ। क्षमताभन्दा बढी यात्रु बोक्ने १८ हजार ८२७ सवारीसाधनबाट १ करोड ६४ लाख २९ हजार, मादक पदार्थ सेवन गर्ने ११ हजार ९६९ चालकबाट ६५ लाख ८२ हजार ५०० रुपैयाँ राजस्व संकलन भएको छ।

यस्तै, क्षमताभन्दा बढी भार बोक्ने ७ हजार २३ सवारीसाधनबाट ९४ लाख ७८ हजार ७०५, प्रयोजनविपरीत सञ्चालन गर्ने ३ हजार ३६० सवारीसाधनबाट ६६ लाख ३ हजार ५००, तीव्र गतिमा सवारी चलाउने ५ हजार ७९४ सवारीसाधनबाट ३४ लाख ५५ हजार ५०० रुपैयाँ राजस्व संकलन भएको छ।

यसका अलावा स्वरूप परिवर्तन, स्टन्ट र ध्वनि प्रदूषण गर्ने ५२२ सवारीसाधनबाट २४ लाख ८४ हजार ३६३, लेन अनुशासन उल्लङ्घन गर्ने १ हजार ४१ सवारीसाधनबाट ५ लाख ७३ हजार रुपैयाँ र अन्य विविध कसुरबाट ८ करोड १२ लाख ७९ हजार ५०० रुपैयाँ भएको कार्यालयले जनाएको छ।

सडक सुरक्षालाई प्रभावकारी बनाउन ट्राफिक प्रहरीले नियम उल्लङ्घन गर्ने सवारीसाधनमाथि निगरानी र कारबाहीलाई थप कडाइ गरेको छ। यद्यपि, अनुमतिपत्र (लाइसेन्स) विना सवारी चलाउने, मापसे, तीव्र गति र ओभरलोड गर्ने प्रवृत्ति अझै पनि मुख्य चुनौतीको रूपमा रहेको प्रहरीले जनाएको छ।

‘दुर्घटना न्यूनीकरण र सडक सुरक्षाका लागि ट्राफिक सचेतना अभिवृद्धि र आधुनिक व्यवस्थापन प्रणालीको विकास आवश्यक छ,’ प्रहरी उपरीक्षक काफ्लेले भने, ‘सवारी दुर्घटनाबाट हुने मानवीय तथा भौतिक क्षति कम गर्न सडक प्रयोगकर्ता र सरोकारवाला सबै पक्षको सक्रिय सहभागिता जरुरी छ।’

असार ६, २०८३ शनिबार ०९:३८:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।