रास्वपा महाधिवेशनमा विद्युतीय मेसिनबाट मतदान हुने, विदेशबाटै भोट हाल्न मिल्ने व्यवस्था

रास्वपा महाधिवेशनमा विद्युतीय मेसिनबाट मतदान हुने, विदेशबाटै भोट हाल्न मिल्ने व्यवस्था

चितवन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आगामी महाधिवेशनमा पूर्ण रूपमा विद्युतीय मतदान (ई-भोटिङ) प्रणाली प्रयोग गरिने भएको छ।

रास्वपा निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार मतदाताहरूले विद्युतीय उपकरणमा उम्मेदवारको नाम र फोटोमा ‘टच’ गरेर मतदान गर्न सक्नेछन्।

महाधिवेशनमा निर्वाचन प्रक्रिया दुई चरणमा सम्पन्न हुनेछ। पहिलो चरणमा एक जना सभापति र ९९ जना केन्द्रीय सदस्यका लागि मतदान हुनेछ। यो मतदान सम्पन्न हुन करिब ६ घण्टा लाग्ने अनुमान गरिएको छ।

पहिलो चरणबाट निर्वाचित भएका सदस्यहरूमध्येबाट दोस्रो चरणमा उपसभापति, महामन्त्री र सहमहामन्त्री चयन गरिनेछ।

निर्वाचन कार्यतालिका अनुसार असार ८ गते दिउँसो २ बजे मनोनयन प्रक्रिया सुरु हुनेछ र सोही दिन साँझ पहिलो चरणको मतदान गराइनेछ।

असार ८ गते रातिसम्म पहिलो चरणको निर्वाचन सकिएपछि पदाधिकारी चयनका लागि असार ९ गते दोस्रो चरणको मतदान हुनेछ।

महाधिवेशनमा करिब ३ हजार प्रतिनिधि सहभागी हुने अनुमान गरिएको छ।

विदेशमा रहेका १७० जना प्रतिनिधिमध्ये भौतिक रूपमा उपस्थित हुन नसक्नेहरूका लागि रास्वपाले आफ्नै आधिकारिक ‘एप’ मार्फत मतदान गर्ने विशेष व्यवस्था मिलाएको छ।

रास्वपाको केन्द्रीय निर्वाचन आयोगमा प्रमुखसहित ११ जना सदस्य रहेका छन्। आयोगका पदाधिकारीहरूले निर्वाचनमा उम्मेदवारी दिन नपाए पनि मतदान गर्न पाउने कानुनी व्यवस्था छ।

यद्यपि, निर्वाचनको निष्पक्षता र विश्वसनीयता कायम राख्न आफूहरू मतदान प्रक्रियामा सहभागी नभई पूर्ण रूपमा तटस्थ रहने प्रमुख केसीले जानकारी दिए।

असार ६, २०८३ शनिबार ०८:२१:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।