कोशीमा मनसुन सक्रिय : केही स्थानमा वर्षा र तराईमा तातो हावाको सम्भावना

कोशीमा मनसुन सक्रिय : केही स्थानमा वर्षा र तराईमा तातो हावाको सम्भावना

काठमाडौं : नेपालको पूर्वी भू-भागमा मनसुनी वायु सक्रिय भएको छ भने देशका अन्य भू-भागमा स्थानीय र पूर्वीय वायुको आंशिक प्रभाव रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भेगका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

यस्तै, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा पनि हल्का वर्षा तथा उच्च पहाडी क्षेत्रमा हिमपातको आकलन गरिएको छ।

तराई क्षेत्रतर्फ कोशीका केही र मधेस प्रदेशका एक-दुई स्थानमा मेघगर्जनसहित पानी पर्ने सम्भावना छ भने बाँकी तराई क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ।

पहाडी क्षेत्रमा वर्षाको सम्भावना रहँदा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा भने तातो लहर (लू) चल्ने सम्भावना छ। साथै बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा पनि तापक्रम बढेर गर्मी हुने महाशाखाले जनाएको छ।

आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ। कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका साथै कोशीको तराई क्षेत्रका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

लुम्बिनी, कर्णाली र मधेस प्रदेशका एक-दुई स्थानमा पनि हल्का वर्षाको सम्भावना छ भने अन्य तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ।

असार ६, २०८३ शनिबार ०८:००:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।