सिन्धुली हिरासतमा मृत्यु प्रकरणबारे राष्ट्रियसभामा गृहमन्त्री गुरुङको जवाफ : प्रहरीले कुटपिट गरेको देखिएन

सिन्धुली हिरासतमा मृत्यु प्रकरणबारे राष्ट्रियसभामा गृहमन्त्री गुरुङको जवाफ : प्रहरीले कुटपिट गरेको देखिएन

काठमाडौं : गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको मृत्यु भएको घटनामा छानबिन गर्न गठित समितिको प्रतिवेदनमा विश्वकर्मामाथि प्रहरीले कुटपिट गरेको नदेखिएको बताएका छन्।

राष्ट्रियसभाको शुक्रबारको बैठकमा सदस्य भुवनबहादुर सुनारले उठाएको प्रश्नको जवाफ दिँदै उनले हिरासतमा रहँदा प्रहरीले कुनै शारीरिक वा मानसिक पीडा नदिएको प्रतिवेदनमा उल्लेख भएको जानकारी दिए। नेपाल प्रहरीभित्र दलित सेल कार्यान्वयनमा ल्याइएको पनि उनले सुनाए। 

प्रतिवेदनका आधारमा विश्वकर्मामाथि कुटपिट भएको नदेखिएको गृहमन्त्री गुरुङले बताए। यस विषयमा मन्त्रालयको ध्यानाकर्षण भएको र नयाँ विषय आएपछि फेरि जानकारी गराइने उनको प्रतिबद्धता थियो।

बैठकमा राष्ट्रियसभा सदस्य सुनारले जातका आधारमा विभेद भइरहेका विषयमा जिज्ञासा राखेका थिए। अन्तर जातीय विवाहकै कारण हत्या, कुटपिट भइरहेकोतर्फ उनले मन्त्री गुरुङको ध्यानाकर्षण गराए। 

टेबल, कुर्सी नभएको हिरासतमा सात फिटमाथि पुगेर कसरी आत्महत्या गरेको हुनसक्छ भनी सांसद सुनारले जिज्ञासा राखेका थिए। बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्र वाचन गरेर सुनाएका थिए। 

असार ५, २०८३ शुक्रबार १६:३९:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।