पाथीभरा केबलकार निर्माण विवाद समाधान खोज्न प्रधानमन्त्री वालेन्द्रले बनाए कार्यदल
काठमाडौँ : स्थानीयको अवरोधका कारण रोकिएको मुक्कुम्लुङ क्षेत्रमा निर्माण हुन लागेको केबलकारको विवाद समाधान गर्न सरकारले कार्यदल गठन गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सचिवस्तरको बिहीबारको निर्णयअनुसार प्रधानमन्त्री वालेन्द्र शाहका सामाजिक विकास विज्ञ विश्व राईको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गरिएको हो।
कार्यदललाई पाथीभरा मन्दिर जाने केबलकार निर्माण सम्बन्धमा लामो समयदेखि देखिएका विवाद तथा समस्या पहिचान गरी सोको समाधानका लागि १५ दिनभित्र सुझाव पेस गर्न समयसीमा तोकिएको छ।
सात सदस्यीय कार्यदलमा संयोजक राईसहित पूर्वाधार विकास मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियर, केबलकार निर्माणप्रति असहमति जनाउने पक्षका प्रतिनिधि, पाथीभरा क्षेत्र विकास समितिको प्रतिनिधि सदस्य रहेको बताइए पनि उनीहरूको नाम खुलाइएको छैन।
कार्यदलमा केबलकार निर्माण गर्ने कम्पनीका प्रतिनिधि, गृह मन्त्रालयका उपसचिव र प्रधानमन्त्री वालेन्द्र शाहको सचिवालयका स्वकीय सहसचिव रहेको बताइएको छ।
धार्मिक क्षेत्रको पहिचानमा असर पर्नेगरी केबलकार निर्माण गर्न खोजेको भन्दै सरोकारवाला पक्षहरूले बारम्बार अवरोध गर्दा केबलकार निर्माणको प्रक्रिया नै अवरुद्ध छ।
यस अगाडि सरकारले पटक पटक सुरक्षा बल प्रयोग गरेर केबलकार निर्माणमा भइरहेको अवरोध हटाउने प्रयास गरेको थियो। त्यसले थप द्वन्द्व बढाएको थियो। सो क्षेत्रमा चन्द्र ढकालको कम्पनीले केबलकार बनाउन थालेको हो।
असार ५, २०८३ शुक्रबार १६:००:३१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।