आयोजनाको भुक्तानी गर्न घुस लिएको अभियोगमा प्रमुख प्रशासकीय अधिकृत यादवविरुद्ध मुद्दा दायर
काठमाडौं : महोत्तरीको सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीदेव यादवविरुद्ध घुस लिएको अभियोगमा विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको छ।
सडक ढलान योजनाको भुक्तानी दिने क्रममा ७२ हजार रुपैयाँ घुस लिएको अभियोगमा उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाएको हो।
यादवले सडक ढलान योजनाको कार्यसम्पन्न पश्चात् भुक्तानीका लागि विभिन्न बहाना बनाई दुःख दिई सेवाग्राहीसँग घुस मागेको आरोप छ। सोही सूचनाका आधारमा आयोगको बर्दिवास कार्यालयबाट खटिएको आयोगको टोलीले उनलाई घुस रकमसहित नियन्त्रणमा लिएको थियो।
आयोगले आरोपी प्रमुख प्रशासकीय अधिकृत यादवविरुद्ध कैद र बिगो बमोजिम जरिवानाको मागदाबी गरेर मुद्दा दायर गरेको प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए।
असार ५, २०८३ शुक्रबार १५:१४:२३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।