पिजन होलमा ‘भागवत् गीता’ र संसद्मा भजन बजाएकोमा नेकपा सांसद विकको आपत्ति
काठमाडौं : प्रतिनिधिसभाको बैठकमा नेपाल कम्युनिष्ट पार्टीकी सांसद पार्वती विकले संसद् भवनभित्रको ‘पिजन होल’ मा धार्मिक ग्रन्थ ‘भागवत् गीता’ राखिएको र बैठक सुरु हुनुअघि भजन बजाउने गरिएको भन्दै आपत्ति जनाएकी छन्।
उनले यस्ता गतिविधिहरू नेपालको संविधानमा व्यवस्था गरिएको धर्मनिरपेक्षताको भावना विपरीत हुन् भन्दै प्रश्न उठाएकी छन्।
संसद् भवनमा प्रत्येक सांसदका लागि एउटा-एउटा ‘पिजन होल’को व्यवस्था गरिएको हुन्छ।
संसद् सचिवालय, सरकारका विभिन्न मन्त्रालय, संसदीय समिति वा अन्य निकायहरूले सांसदहरूलाई दिनुपर्ने आधिकारिक सूचना, संसद्को दैनिक कार्यसूची, दर्ता भएका विधेयकका प्रतिलिपि, प्रतिवेदन, निमन्त्रणा पत्र तथा अन्य चिठीपत्रहरू यसैमा राखिदिने गर्दछन्। सांसद वा उनीहरूका सहयोगीले सोही स्थानबाट आफ्ना कागजातहरू सङ्कलन गर्ने गर्दछन्।
सोही पिजन होलमा भागवत् गीता भेटिएपछि सांसद विकले संसद्को बैठकमा गम्भीर चासो व्यक्त गरेकी हुन्।
बैठकमा बोल्दै उनले भनिन्, ‘पिजन होलमा भागवत् गीता राखिएको छ। संसद्को बैठक सुरु हुनुभन्दा अगाडि भजनको ध्वनि सुरु गरिन्छ। नेपालको संविधानमा देश धर्मनिरपेक्ष हुने व्यवस्था छ। यो कतै धर्मनिरपेक्षताको विरुद्धमा त छैन? के यहाँ कुनै कुराको ट्रायल गर्न खोजिएको हो?’
सांसद विकले धार्मिक भजनको सट्टा संसद् भवनमा राष्ट्रभक्तिका गीतहरू बजाउन उपयुक्त हुने सुझावसमेत दिइन्।
‘बरु ती राष्ट्रभक्तिका गीत रचना गर्ने कलाकारका ध्वनिहरू यहाँ राखिएको भए सांसदहरूमा राष्ट्रप्रेमी भावना जाग्थ्यो कि’, उनले भनिन्।
असार ५, २०८३ शुक्रबार १३:११:५८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।