कोशीका कानुनमन्त्री पराजुलीको कोठामा प्रहरीले खानतलासी गरेको सांसद राजेन्द्र राईको दाबी, छानबिनको माग
काठमाडौं : एमालेका सांसद राजेन्द्रकुमार राईले कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री ईन्द्रमणि पराजुलीको कोठामा प्रहरीले खानतलासी गरेको भन्दै आपत्ति जनाएका छन्। उनले घटनाको तत्काल छानबिन गर्न सरकारसँग माग गरेका छन्।
शुक्रबार संसद्मा बोल्दै सांसद राईले हिजो राति करिब १० बजे मन्त्री पराजुली आफ्नो कोठामा नभएको मौका पारी प्रहरीले खानतलासी गरेको दाबी गरे।
मन्त्री पराजुली सो समयमा संखुवासभा गएकाले कोठामा अनुपस्थित रहेको र सोही समयमा प्रहरी टोली कोठाभित्र प्रवेश गरेको उनको भनाइ छ।

नयाँ सरकार गठन भएलगत्तै मन्त्रीकै कोठामा विनाजानकारी प्रहरी प्रवेश गर्नु गम्भीर विषय भएको उल्लेख गर्दै सांसद राईले प्रश्न गरे, ‘नयाँ सरकारबाट यस्तो कार्य किन हुँदैछ? त्यहाँ के भएको हो, कसरी भयो र किन त्यस्तो गरियो, यसको सत्यतथ्य छानबिन हुनुपर्छ।’
तर, कोशी प्रदेश प्रहरी कार्यालयका प्रमु्ख एवं प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले भने कोठामा पसेको नभई कम्पाउन्डमा प्रहरी गएको स्वीकार गरे।
‘फरार अपराधी छ भन्ने सूचनाको आधारमा कम्पाउन्डमा गएको हो,’ उनले उकेरासँग भने, ‘तर, माननीयज्यूले भन्नुभाको जस्तो कोठामै प्रवेश गरेर खानतलासी गरेको भने होइन।’
के मुद्दाको फरार अपराधी भन्ने विषयमा भने उनले खुलाएनन्।
असार ५, २०८३ शुक्रबार १२:०५:३३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।