कागजमा आरोग्य पर्यटनको सपना, व्यवहारमा उपेक्षित आयुर्वेद

कागजमा आरोग्य पर्यटनको सपना, व्यवहारमा उपेक्षित आयुर्वेद

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हालै ‘राष्ट्रिय आरोग्य पर्यटन रणनीति (सन् २०२६-२०३५) तथा कार्ययोजना (सन् २०२६-२०३०)’ सार्वजनिक गर्यो। यसले नेपालको पर्यटन क्षेत्रलाई केवल प्राकृतिक दृश्यावलोकन, साहसिक र सांस्कृतिक भ्रमणमा मात्र सीमित नराखी विश्वव्यापी रूपमा विस्तार भइरहेको ‘आरोग्य अर्थतन्त्र’सँग जोड्ने प्रयास गरेको छ।

आजका मानिसहरू शारीरिक मात्र नभई मानसिक, आध्यात्मिक र स्वस्थ जीवनशैलीको खोजीमा छन्। यही परिवर्तनशील विश्व स्वास्थ्य संस्कृतिलाई आत्मसात् गर्दै नेपालले आफ्नो मौलिक पहिचान, प्राकृतिक सम्पदा र आध्यात्मिक परम्परालाई आर्थिक समृद्धिको आधार बनाउने लक्ष्य लिनु अत्यन्त सकारात्मक देखिन्छ।

‘आरोग्य पर्यटन गन्तव्य नेपाल, आर्थिक समृद्धिको आधार’ भन्ने दूरदृष्टिसहित ल्याइएको यो रणनीति नेपालको समग्र पर्यटन विकासमा नयाँ सम्भावनाको ढोका खोल्ने प्रयास हो।

आरोग्य हबका लागि चार विधा र महत्त्वाकांक्षी योजना
भौगोलिक तथा जैविक विविधता, योग-ध्यान परम्परा र आयुर्वेदका दृष्टिकोणबाट हेर्दा आरोग्य पर्यटनका लागि नेपाल स्वाभाविक रूपमा उपयुक्त गन्तव्य हो। आध्यात्मिक अभ्यास र प्रकृतिसँगको निकटता नेपालका विशेष आकर्षण हुन्।

सरकारले स्पा तथा मसाज, आयुर्वेद उपचार, योग र ध्यान, प्राकृतिक चिकित्सा तथा आध्यात्मिक अभ्यास गरी चार वटा विधालाई पर्यटकीय हबका रूपमा विकास गर्ने योजना अघि सारेको छ।

यो रणनीतिअनुसार काठमाडौं, पोखरा, लुम्बिनीलगायत पाँच विशिष्ट भौगोलिक क्षेत्रलाई ‘आरोग्य हब’का रूपमा विकास गरिनेछ; जसबाट वर्षभरि नै पर्यटकको आकर्षण बढ्ने र पर्यटकको बसाइ अवधि लम्बिने अपेक्षा गरिएको छ।

सरकारले सन् २०३० सम्म नेपाल आउने कुल अन्तर्राष्ट्रिय पर्यटकमध्ये कम्तीमा ११ प्रतिशत आरोग्य पर्यटक हुने अपेक्षा राखेको छ।

त्यस्तै, वार्षिक २० देखि ३० मिलियन अमेरिकी डलर राजस्व आर्जन गर्ने र सन् २०३५ सम्म आरोग्य पर्यटकहरूको औसत सन्तुष्टि स्तर १० अङ्कमा ८.५ भन्दा माथि पुर्याउने महत्त्वाकांक्षी योजना यसमा समावेश छ।

अन्तर्राष्ट्रिय बजारमा नेपाली आरोग्य स्वास्थ्य सेवाको विश्वसनीयता कायम गर्न ‘राष्ट्रिय आरोग्य मापदण्ड तथा आचारसंहिता’ लागू गरिने भएको छ। यसअन्तर्गत कांस्य, रजत र स्वर्ण गरी तीन तहको राष्ट्रिय प्रमाणीकरण प्रणाली कार्यान्वयनमा ल्याइनेछ।

‘नेपाल आरोग्य प्रमाणित’, ‘नेपाल आरोग्य उत्कृष्टता’ र ‘नेपाल आरोग्य धाम’ नाम दिइएको यो प्रणालीले सेवाको गुणस्तर सुनिश्चित गर्नुका साथै विदेशी पर्यटकको विश्वास जित्ने अपेक्षा गरिएको छ।

आयुर्वेदप्रति उदासीनता र संरचनागत चुनौती
तर, रणनीति सार्वजनिक हुनु मात्र पर्याप्त होइन। नेपालका ७५३ वटै स्थानीय तहमा रहेका आयुर्वेद तथा नागरिक आरोग्य केन्द्रहरू अहिले पनि विभिन्न संरचनात्मक समस्यासँग जुधिरहेको यथार्थलाई नजरअन्दाज गर्न मिल्दैन। यस क्षेत्रका लागि पर्याप्त बजेट विनियोजन नहुनु मुख्य समस्या हो।

आयुर्वेद अस्पताल, प्रदेशस्तरीय आयुर्वेद संस्था तथा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रहरू न्यूनतम स्रोतसाधनका भरमा सञ्चालन भइरहेका छन्। आधुनिक स्तरका पञ्चकर्म कक्ष, अनुसन्धान प्रयोगशाला र डिजिटलाइजेसनको कमी छ भने नयाँ दरबन्दी सिर्जना गर्न सरकार उत्साहित देखिँदैन।

स्थापना भएर जेनतेन चलिरहेका संस्थाहरू- विशेष गरी आयुर्वेद अनुसन्धान केन्द्र, बुढानीलकण्ठस्थित पञ्चकर्म केन्द्र तथा प्रदेश आयुर्वेद चिकित्सालयहरूमा ठोस रूपमा सांगठनिक तथा व्यवस्थापकीय सर्वेक्षण हुन नसक्नु व्यवस्थापकीय कमजोरीको संकेत हो।

आरोग्य पर्यटनलाई महत्त्वाकांक्षी रणनीतिका रूपमा प्रस्तुत गरिरहँदा हाल उपलब्ध संरचनाहरूलाई बलियो र प्रभावकारी बनाउन सके देशैभर आरोग्य पर्यटन विस्तार गर्न सहज हुनेछ।

आयुर्वेद र वैकल्पिक चिकित्साको सवालमा सरकारको उदासीनताको उत्कृष्ट नमुना सर्वोच्च अदालतबाट होमियोप्याथिक उपचारलाई व्यापक बनाउन जारी भएको निर्देशनात्मक आदेश कार्यान्वयन नहुनु नै काफी छ। यसले नीति निर्माण र व्यावहारिक कार्यान्वयनबीच ठूलो खाडल रहेको स्पष्ट पार्छ।

नेपाल जडीबुटीमा धनी देश भए तापने औषधिजन्य कच्चा पदार्थको देशभित्रै उत्पादन गर्नेतर्फ कहिल्यै ध्यान गएको देखिँदैन। देशभित्र आवश्यक आयुर्वेदिक कच्चा पदार्थको उत्पादन लगभग शून्यजस्तै छ। अधिकांश जडीबुटी तथा कच्चा पदार्थ भारतबाट आयात गर्नुपर्ने बाध्यता छ।

आयातित सामग्री पनि धेरैजसो लामो समय भण्डारण गरिएका र गुणस्तर ह्रास भएका हुने गर्छन्; जसले औषधिको प्रभावकारिता तथा आयुर्वेद सेवाको विश्वसनीयतामाथि नै प्रश्न उठाउने जोखिम रहन्छ। यसतर्फ सरकारको ध्यान जानु अति जरुरी छ।

यदि नेपालले वास्तवमै आरोग्य पर्यटनलाई आर्थिक समृद्धिको आधार बनाउने हो भने केवल नीतिको घोषणा गरेर मात्र पुग्दैन।

हाल सञ्चालित आयुर्वेद संस्थाहरूलाई प्राथमिकतामा राखी पर्याप्त बजेट, दक्ष जनशक्ति, अनुसन्धान, गुणस्तरीय पूर्वाधार, स्वास्थ्यसँग सम्बन्धित निकायहरूबीच समन्वय तथा स्वदेशमै जडीबुटी उत्पादनका लागि स्पष्ट नीति बनाई स्थानीय समुदायको सहभागिता सुनिश्चित गर्नुपर्छ। अन्यथा, यो महत्त्वाकांक्षी रणनीति केवल कागजमै सीमित हुने जोखिम रहन्छ।

अन्त्यमा, विश्वव्यापी रूपमा आरोग्य पर्यटन उद्योग तीव्र गतिमा विस्तार भइरहेको वर्तमान अवस्थामा नेपालका लागि यो ऐतिहासिक अवसर हुन सक्छ।

हाम्रा प्राकृतिक सम्पदा, आध्यात्मिक र मौलिक उपचार पद्धतिलाई विज्ञान र विश्वसनीयतासँग जोड्न सके नेपाल विश्वकै एक प्रमुख आरोग्य पर्यटन केन्द्रका रूपमा स्थापित हुन सक्छ। यसका लागि नीति घोषणासँगै हाल सञ्चालनमा रहेका संस्थाहरूलाई मजबुत र सक्षम बनाउन राज्यको इमानदार प्रतिबद्धता आवश्यक छ।

(लेखक डा. सत्याल जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, दार्चुलाका प्रमुख हुन्।)

असार ५, २०८३ शुक्रबार १०:३७:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।