२०२८ सालमै धर्म निरपेक्षताको पक्षपाती रहेका देउवा किन चाहन्छन् हिन्दु राष्ट्र?
साउन २८ गते नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा साढे पाँच महिना लामो ‘उपचार’पछि सिंगापुरबाट स्वदेश फर्किए।
स्वदेश फर्किएलगत्तै साउन २९ गतेदेखि सुरु भएको आफ्नो समूहको भेलामा उनी सरकारप्रति निकै आक्रामक देखिए। यद्यपि, भेलाको अन्तिम दिन देउवाले दिएको एउटा अभिव्यक्ति भने कांग्रेसको परम्परागत सिद्धान्तविपरीत थियो।
देउवाले भेलालाई गरेको सम्बोधनमा ‘म हिन्दु हुँ, हिन्दु हुँ, हिन्दु हुँ’ भन्दै अन्य धर्मको समेत रक्षा गर्ने बताए। त्यति मात्र होइन, भेलाले सर्वसम्मतिबाट पारित गरेको पाँचबुँदे निर्णय समेत पारित गर्यो।
जसको बुँदा नम्बर ३ मा भनिएको छ, ‘नेपालको सनातनदेखि चलिआएको धर्म-संस्कृति हाम्रो राष्ट्रिय पहिचान हो। धार्मिक स्वतन्त्रता सुनिश्चित गर्दै सनातनदेखि चलिआएको हिन्दू, बौद्ध, किरात र प्राकृत धर्मको संरक्षण गर्ने दायित्वलाई दृष्टिगत गरी सनातन धर्मलाई राष्ट्रको पहिचानका रूपमा अघि बढाउने प्रतिबद्धता गरिन्छ।’

नेपालको संविधानमै धर्म निरपेक्षताको आफ्नै परिभाषा गर्दै सनातनदेखि चलिआएको धर्मको रक्षा गरिने उल्लेख छ। नेपाल धर्म निरपेक्ष राष्ट्र भए पनि प्रायः सबै धर्मका मुख्य चाडपर्वमा सरकारले बिदा दिँदै आएको छ। नेपाली सेनाले शिवरात्रिकै दिन आफ्नो स्थापना दिवस मनाउँदै आइरहेको छ। कसैले पनि हिन्दु धर्म मान्न पाउँदैनौ भनेर रोकेको अवस्था छैन।
यस्तो सहज अवस्थामा करिब ६ दशक राजनीतिमा बिताएका देउवालाई अचानक ‘म हिन्दु हुँ’ भनेर भन्नुपर्ने अवस्था किन आइलाग्यो? कतै देउवाले धर्मको कार्ड फालेर आफ्नो पुनरागमनको मञ्च तयार पार्न त खोजिरहेका छैनन्? शंका उब्जिन्छ नै!
देउवा साच्चै नागरिकको समस्या समाधान गर्न चाहन्थे भने अहिले देखिएको चरम बेरोजगारी, युवा पलायन र आर्थिक विकासका मुद्दामा बोल्नुपर्थ्यो।
२०२८ सालमै युवा विद्यार्थीले चाहे भने जस्तोसुकै तानाशाहलाई ढाल्न सक्छन् भन्ने बुझेका देउवाले जेन-जी आन्दोलनलाई सायद कमजोर आँके। जेन-जी आन्दोलनको नाममा फागुन २१ गते भएको चुनावमा उनी र पूर्वपरराष्ट्रमन्त्री समेत रहेकी उनकी पत्नी आरजु राणा भोटसमेत हाल्न पाएनन् र निर्घात कुटिनु पर्यो।
उनले किन यस्तो भयो भनेर गहिरिएर सोचेको भए सायद राज्यका अन्य प्रमुख मुद्दामा बोल्ने थिए। तर, उनी ती विषयमा मौन रहे।

३० वर्षभन्दा बढी सत्ताको केन्द्रमा रहेका देउवाले शिक्षा, स्वास्थ्य र आधारभूत आवश्यकताका लागि नागरिकले गरिरहेको संघर्ष नबुझेका होइनन्। तर, जनजीविकाका मुद्दा छाडेर भावनामाथि खेल्दै धर्मको राजनीतितर्फ लाग्नु आफैँमा दुःखद हो।
के नेपालको विकास र समृद्धि धर्मको संरक्षण नभएर रोकिएको हो कि समाज रुढीवादी कुसंस्कारमा अल्झिएर? ५५ वर्षपछि देउवा किन धर्मको शरणमा पुगे? भेलामा घुमाउरो पाराले हिन्दु राष्ट्रको वकालत गरेका देउवा के सुरुदेखि नै हिन्दुवादी थिए त?
इतिहासका पाना पल्टाउने हो भने तथ्य ठीक विपरीत देखिन्छ।
हिजोका धर्म निरपेक्षतावादी देउवा
गोवर्धन रानाद्वारा लिखित ‘प्रजातान्त्रिक आन्दोलनमा नेपाल विद्यार्थी संघ’ नामक पुस्तकअनुसार, २०२८ सालमा शेरबहादुर देउवा नेपाली कांग्रेसको भ्रातृसंगठन नेविसंघका अध्यक्ष थिए। त्यतिबेला नेविसंघले ‘संक्रान्ति’ नामक मुखपत्र निकाल्थ्यो।
२०२८ साल पुसको अन्त्यतिर प्रकाशित ‘संक्रान्ति’को दोस्रो अंकको सम्पादकीयले देउवाको तत्कालीन धार्मिक विचारलाई प्रष्ट पार्छ। उक्त सम्पादकीयमा बंगलादेश पाकिस्तानबाट छुट्टिएको कुरालाई समर्थन गरिएको छ।
पाकिस्तानका सैनिक तानाशाहको कडा विरोध गर्दै लेखिएको छ, ‘सैनिक तानाशाहहरूले जतिसुकै हत्या गरी दबाए पनि जनताको भावना र महत्त्वाकांक्षालाई सधैँ कुल्चिरहन सक्दैनन् भन्ने कुराको अर्को एउटा ज्यादै सशक्त उदाहरण बंगलादेश हो।’

त्यतिबेला बंगलादेशका प्रधानमन्त्रीले ‘प्रजातन्त्र, धर्म निरपेक्षता र समाजवाद हाम्रा आदर्श हुन्’ भनेको प्रसङ्ग उल्लेख गर्दै सम्पादकीयमा बंगलादेशलाई समर्थन गरिएको थियो।
सम्पादकीयमा थप लेखिएको छ, ‘एसियामा जन्मिएको नयाँ राष्ट्रमा प्रजातन्त्र, धर्म निरपेक्षता र समाजवादको दीपशिखा प्रज्वलित हुँदैछ। हामी आशा राख्छौँ र कामना गर्दछौँ कि त्यो दीप विजयद्वारा निर्मित नयाँ शिखा अनन्तकालसम्म प्रज्वलित भइरहोस्। जनराष्ट्रलाई हाम्रो यही शुभकामना छ।’
यसबाट के प्रष्ट हुन्छ भने देउवा युवा अवस्थामै धर्म निरपेक्षतावादी थिए। आफैँ अध्यक्ष भएको संगठनको मुखपत्रमार्फत उनले धर्म निरपेक्ष राष्ट्र बंगलादेशलाई शुभकामना दिएका थिए।
के कुनै दूरदर्शी राजनीतिज्ञले आफ्नो स्वार्थ पूर्तिका लागि बहुधार्मिक मुलुकमा कुनै एक धर्मको मात्र पक्षपोषण गर्न सक्छ? आफ्नो सिद्धान्तलाई तिलाञ्जली दिन सक्छ? हुन त, चुनाव जित्नकै लागि विचार र आदर्श नै नमिल्ने दललाई भोट हाल्न आदेश दिने देउवासँग सिद्धान्तका कुरा गर्नु बेकार हुन सक्ला।
तर, राजनीतिको उत्तरार्धमा रहेका देउवाले धर्मको कार्ड फालेर नेपाली समाजलाई फेरि सम्भावित धार्मिक द्वन्द्वतिर धकेल्न खोजेका त होइनन्? कि राजा महेन्द्रको ‘एक धर्म’को नीति स्वीकारेर बीपीको आदर्शबाट उनी च्यूत भएका हुन्?
बीपीको आवरणमा धर्मको राजनीति
रोचक तथ्य के छ भने, देउवाले धर्मको राजनीति बीपीकै छोरा शशांक कोइरालामार्फत खेल्न खोजेका छन्।
बीपी आफ्ना आखिरी दिनमा भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीले धेरै नै सुराकी गर्न थालेपछि ३३ सालमा राष्ट्रिय मेलमिलापको नीति लिएर नेपाल फर्किँदा संवैधानिक राजसंस्थाको वकालत गरे पनि ‘हिन्दू राष्ट्र’को भने घोर विरोध गरेको देखिन्छ।
बीपीले २०३६ साउन ४ गते ‘विक्ली मिरर’लाई दिएको अन्तर्वार्तामा नेपाल किन हिन्दु राष्ट्र हुनु हुँदैन भनेर प्रष्ट बोलेका छन्।

पत्रकारले सोधेका थिए- ‘नेपाललाई धर्मनिरपेक्ष मुलुक बनाउन चाहने व्यक्तिका रूपमा तपाईंलाई लिइन्छ। यसो गर्दा नेपालका रुढिवादी तत्त्वलाई प्रश्रय मिल्दैन? तपाईं सत्तामा आएपछि पशुपतिनाथ मन्दिरलाई सङ्ग्रहालयमा सार्नका लागि जनतालाई मनाउन कठिन हुँदैन?’
यसको जवाफमा बीपीले भनेका थिए, ‘नेपाल हिन्दू राज्य हुँदै होइन। कसैले हिन्दू राज्य हो भन्दछ भने त्यो झेली मात्र हो। नेपाल निश्चय पनि धर्मनिरपेक्ष राज्य हो। धर्मनिरपेक्ष राज्यमा धार्मिक आस्था राख्ने स्वतन्त्रता हुन्छ। तसर्थ, मन्दिर वा प्रार्थनास्थल कुन हो भनेर छुट्याउनुपर्ने प्रश्न नै उठ्दैन।’
बीपीले आफू मन्दिर जाने गरेको तर कुनै आस्था नभएको र अझ पशुपतिनाथ मन्दिरलाई नै सङ्ग्रहालयमा सार्नुपर्छ भन्नेसम्मको अभिव्यक्ति दिएका थिए। यसको अर्थ बीपीले कसैलाई धर्म मान्न रोक्ने भनेका होइनन्।
कांग्रेसको चारतारे झण्डाको एउटा ताराको अर्थ ‘धार्मिक स्वतन्त्रता’ हो, जसले सबै धर्मप्रतिको सम्मान र स्वतन्त्रता बुझाउँछ। तर, कांग्रेसको राजनीतिमा आजीवन बिताएका देउवा आज त्यही एउटा ताराको अर्थ मेटाउन उद्यत देखिन्छन्।
भदौ २, २०८३ मंगलबार ११:१८:१६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।