टिकटक भिडियो बनाउँदा शिक्षकलाई स्पष्टीकरण, वडाध्यक्षको दबाबमा प्रअले काटे पत्र

टिकटक भिडियो बनाउँदा शिक्षकलाई स्पष्टीकरण, वडाध्यक्षको दबाबमा प्रअले काटे पत्र
वडाध्यक्ष न्यौपाने र विद्यालयको काटेको पत्र

काठमाडौं : नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ५, पिपलटारस्थित श्री चन्द्रज्योति माध्यमिक विद्यालयका एक स्थायी शिक्षकलाई टिकटक भिडियो बनाएको आरोपमा विद्यालयले स्पष्टीकरण सोधेको छ।

हास्य टेलिश्रृंखला ‘मेरी बास्सै’ को पुरानो संवाद (अडियो) मा लिप सिङ्क गर्दै टिकटक बनाएको भन्दै प्राथमिक तह द्वितीय श्रेणीका शिक्षक देवेन्द्रबहादुर थापालाई तीन दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न पत्र काटिएको हो।

शिक्षक थापाले गत वैशाख २८ गते आफ्नो सामाजिक सञ्जाल फेसबुकमा एक भिडियो पोस्ट गरेका थिए। उक्त भिडियोमा चुनावका बेला भोट माग्ने तर जितेपछि वडाध्यक्षको कुनै ‘इज्जत’ नहुने भन्दै हाँसोमजाक गरिएको संवाद प्रयोग भएको छ।

सोही भिडियोलाई लिएर विदुर नगरपालिका-५ का वडाध्यक्ष लीलानाथ न्यौपाने रुष्ट बनेपछि यो विषयले प्रशासनिक रूप लिएको हो।

प्रधानाध्यापकको बाध्यता- दबाब आएपछि पत्र काट्न बाध्य भएँ
विद्यालयका प्रधानाध्यापक वासुदेव पनेरुले वडाध्यक्षको तीव्र दबाबपछि आफूले स्पष्टीकरण सोध्न बाध्य भएको बताएका छन्।

हाल विद्यालय व्यवस्थापन समितिको नयाँ कार्यसमिति चयन नभएकाले ज्येष्ठताका आधारमा वडाध्यक्ष लीलानाथ न्यौपानेले नै समितिको अध्यक्षता गरिरहेका छन्।

प्रअ पनेरुका अनुसार वडाध्यक्ष न्यौपानेले शिक्षकमाथि कारबाही प्रक्रिया अघि नबढाए विद्यालयका लागि वडाबाट हुने सिफारिस रोक्ने र बैठक नै बस्न नदिने चेतावनी दिएका थिए।

‘यो निर्णय नगर्ने हो भने बैठक स्थगित हुन्छ र वडाबाट हुने काम तथा सिफारिस रोक्छु भनेर वडाध्यक्षज्यूले अडान लिनुभयो,’ प्रअ पनेरुले भने, ‘विद्यालयको काम प्रभावित नहोस् र बाटो फुकोस् भन्नका लागि मात्र मैले बाध्यात्मक रूपमा यो पत्र काटेको हुँ, यसमा मेरो कुनै व्यक्तिगत इच्छा वा रिसइबी छैन।’

वडाध्यक्षको तर्क- स्थानीय सरकार मातहतका शिक्षक अनुशासित हुनुपर्छ
अर्कातर्फ, वडाध्यक्ष लीलानाथ न्यौपानेले भने स्थानीय सरकार मातहत रहेका शिक्षक मर्यादित र अनुशासित हुनुपर्ने जिकिर गरेका छन्।

उनले टिकटक बनाउनु व्यक्तिगत स्वतन्त्रता भए पनि सरकारी सेवामा रहेका शिक्षकले जनप्रतिनिधिलाई लक्षित गरी सार्वजनिक रूपमा व्यङ्ग्य गर्नु आचारसंहिता विपरीत भएको तर्क गरे।

‘टिकटक बनाउन पाइन्छ, तर स्थानीय सरकार मातहत रहेर सरकारी सेवा सुविधा लिने शिक्षकले जनप्रतिनिधिमाथि यसरी सार्वजनिक रूपमा व्यङ्ग्य गर्नु अनुशासनहीनता हो,’ वडाध्यक्ष न्यौपानेले भने, ‘विदुर नगरपालिकाको शिक्षा शाखामा पनि यस विषयमा छलफल भएको थियो। त्यसपछि नै व्यवस्थापन समितिले लिखित स्पष्टीकरण सोध्ने निर्णय गरेको हो।’

उनले यस विषयलाई लिएर आफूले नगरपालिका र शिक्षा एकाइमा समेत कुरा उठाएको बताए। न्यौपाने तत्कालीन माओवादी केन्द्रबाट वडाध्यक्षमा निर्वाचित भएका थिए।

के छ विद्यालयको पत्रमा?
विद्यालयले २०८१ असार ४ गते शिक्षक थापालाई काटेको पत्रमा भनिएको छ, ‘तपाईंको फेसबुक पेजबाट प्रकाशित टिकटक भिडियो सामग्रीमा वडाध्यक्षहरूलाई जोडेर टेलिसिरियलमा अभिनय गर्ने कलाकारको आवाजमा व्यक्त भिडियोले विदुर नगरपालिका कार्यालयलगायत शिक्षा निकायसम्म चर्चा भएको हुँदा... यस विषयमा धारणा स्पष्ट रूपमा लेखी तीन दिनभित्र जवाफ पेस गर्न निर्देश गरिन्छ।’

विद्यालय व्यवस्थापन समितिको असार ३ गतेको बैठकले उक्त ध्यानाकर्षण गराउने निर्णय गरेको पत्रमा उल्लेख छ।

असार ५, २०८३ शुक्रबार १०:१६:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।