एमाले लुम्बिनी बैठक : ओलीको कार्यशैलीप्रति तल्लो तह असन्तुष्ट, बचाउमा उत्रनेहरू अल्पमतमा

एमाले लुम्बिनी बैठक : ओलीको कार्यशैलीप्रति तल्लो तह असन्तुष्ट, बचाउमा उत्रनेहरू अल्पमतमा

बुटवल : पार्टीले बेहोरेको पराजयपछि एमालेभित्रको आन्तरिक असन्तुष्टि लुम्बिनी प्रदेशमा प्रस्ट रूपमा सतहमा आएको छ।

पार्टीको साङ्गठनिक कार्यशैली र वर्तमान केन्द्रीय नेतृत्वबाट अब सङ्गठन प्रभावकारी रूपमा अघि बढ्न नसक्ने निष्कर्षसहित लुम्बिनीका अधिकांश नेताहरूले असहमति जनाएका छन्।

कपिलवस्तुको चन्द्रौटामा सम्पन्न एमालेको लुम्बिनी प्रदेशस्तरीय समीक्षा तथा सुझाव सङ्कलन बैठकमा सहभागी अधिकांशले पार्टीलाई जीवन्त राख्न ‘नेतृत्व परिवर्तन र आमूल पुनर्गठन’ आवश्यक रहेको औँल्याएका हुन्।

अर्कोतर्फ, केही सीमित नेताहरू भने पराजयको मुख्य कारणलाई विषयान्तर गर्दै संस्थापन पक्ष र अध्यक्ष केपी शर्मा ओलीको बचाउमा उभिएका छन्।

अधिकांश जिल्ला नेतृत्व परिवर्तनको पक्षमा, बचाउमा सीमित नेता
बैठकमा सहभागी लुम्बिनीका १२ जिल्लामध्ये १० जिल्लाका पदाधिकारी र प्रदेश कमिटीका नेताहरूले वर्तमान शीर्ष नेतृत्वको नीति र कार्यशैलीकै कारण पार्टीले ठुलो क्षति बेहोर्नुपरेको धारणा राखेका थिए।

उनीहरूले तत्काल नेतृत्व परिवर्तन नगरे आगामी निर्वाचनमा पार्टीको अस्तित्व थप सङ्कटमा पर्न सक्ने चेतावनी समेत दिए।

तर, रूपन्देहीका प्रदेश सांसद एवं पूर्वमन्त्री भूमिश्वर ढकाल, पाल्पाका पूर्वसांसद नारायण आचार्य, प्युठानका सूर्य थापा र कपिलवस्तुका पूर्वमन्त्री बलराम अधिकारी जस्ता नेताहरूले भने नेतृत्वको बचाउ गरेका थिए।

तल्लो तहका नेताहरूले नेतृत्वको राजीनामा मागिरहँदा यी नेताहरूले ‘एक जना व्यक्तिलाई मात्र दोष दिएर हुन्न’ भन्दै बचाउको प्रयास गरेका थिए। उनीहरूले पुनर्गठन नै गर्ने भए अध्यक्षको मात्र नभई सचिवालयका सबै पदाधिकारी हट्नुपर्ने अडान अघि सारेका थिए।

बैठकमा केन्द्रीय सदस्य सूर्य थापाले व्यक्ति केन्द्रित पुनर्गठनले निकास नदिने दाबी गर्दै सबै पदाधिकारी हटेर केन्द्रीय सदस्य बन्नुपर्ने धारणा राखे।

लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये गुल्मी र अर्घाखाँचीका पदाधिकारी मात्रै संस्थापन पक्षको बचाउमा उभिएका थिए भने बाँकेका प्रतिनिधिले मध्यमार्गी बाटो रोजेका थिए।

बाँकी ९ जिल्लाले भने नेतृत्व परिवर्तनबिना सुधार असम्भव रहेको स्पष्ट अडान लिए। यस्तो महत्त्वपूर्ण साङ्गठनिक बहस भइरहँदा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यको बैठकमा अनुपस्थितिलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

उपाध्यक्ष पौडेलको कूटनीतिक सम्बोधन
बैठकमा तल्लो तहका नेताहरूको तीव्र आक्रोश र असन्तुष्टि देखिएपछि माहोललाई शान्त पार्न उपाध्यक्ष विष्णुप्रसाद पौडेलले कूटनीतिक पहल गरेका छन्। उनले लुम्बिनीमा कम्युनिस्ट आन्दोलनले गम्भीर धक्का बेहोरेको र पराजय भोग्नुपरेको यथार्थलाई स्वीकार गरे।

यद्यपि, उनले ‘विचार र बहस एमालेको मुख्य विशेषता हो’ भन्दै बैठकमा आएका सबै सुझावहरूलाई कार्यदलमार्फत केन्द्रमा पुर्याउने आश्वासन दिए।

बैठकमा उपाध्यक्षहरू रामबहादुर थापा ‘बादल’, पृथ्वीसुब्बा गुरुङ, गोकर्ण विष्ट र महासचिव शङ्कर पोखरेललगायतका शीर्ष नेताहरूको उपस्थिति थियो।

आफ्नै गृहप्रदेशमा भएको यो बहस र नेतृत्वमाथि उठाइएका गम्भीर प्रश्नले महासचिव पोखरेल र अध्यक्ष ओली पक्षलाई दबाब सिर्जना गरेको राजनीतिक वृत्तमा विश्लेषण गरिएको छ।

तल्लो तहबाट आएका यी दबाब र सुझावलाई केन्द्रीय नेतृत्वले कसरी सम्बोधन गर्छ, त्यसले नै एमालेको आगामी साङ्गठनिक दिशा तय गर्ने देखिन्छ।

असार ५, २०८३ शुक्रबार ०९:३०:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।