नक्कली शैक्षिक प्रमाणपत्र बुझाएर जागिर खाएको अभियोगमा रामकुमारविरुद्ध मुद्दा दायर

नक्कली शैक्षिक प्रमाणपत्र बुझाएर जागिर खाएको अभियोगमा रामकुमारविरुद्ध मुद्दा दायर

काठमाडौं : नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा कार्यरत रंगमञ्च सहायक रामकुमार बोहराविरुद्ध नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी सरकारी सेवा प्रवेश गरेको अभियोगमा बिहीबार विशेष अदालतमा मुद्दा दायर गरिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार बोहराले २०६९ मंसिर १ गतेदेखि लागू हुने गरी रा.प. अनंकित तृतीय श्रेणी सरहको स्थायी रंगमञ्च सहायक पद प्राप्त गर्न झुट्टा विवरण पेस गरेका थिए। 

उनले तरुण माध्यमिक विद्यालय बालाजुबाट कक्षा १० (सेन्टअप) उत्तीर्ण गरेको भनी नक्कली लब्धाङ्क पत्र (मार्कसिट) र स्थानान्तरण प्रमाणपत्र (ट्रान्सफर सर्टिफिकेट) पेस गरी सोही आधारमा नियुक्ति लिएको आयोगले जनाएको छ।

गलत विवरणका आधारमा राष्ट्रसेवकको ओहदा, लाभ र सुविधा प्राप्त गरेको भन्दै आयोगले बोहरालाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरमा कारबाही माग गरेको छ। 

उनीविरुद्ध सोही ऐनको दफा १६ (१) अनुसार कैद र जरिवाना सजायको मागदाबीसहित बिहीबार आरोप पत्र दायर गरिएको हो। प्रतिष्ठानमा कार्यरत बोहराले नक्कली प्रमाणपत्रका आधारमा जागिर खाएको भनी परेको उजुरीमाथि अनुसन्धान हुँदा उक्त तथ्य खुलेको आयोगले जनाएको छ।

असार ४, २०८३ बिहीबार २१:३२:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।