रक्षामन्त्री वालेन्द्रको प्रतिनिधि वाग्लेले संसदमा झुट बोल्दै भने "सुकुमबासी बस्ती हटाउन सेना परिचालन गरिएको छैन"
काठमाडौं : रक्षामन्त्री वालेन्द्रका शाहका प्रतिनिधि बन्दै संसदमा रक्षा मन्त्रालयबारे उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री स्वर्णिम वाग्लेले वैशाख १२ मा सुकुमबासी बस्ती हटाउन नखटाएको दाबी गरे। वैशाख १२ मा नेपाली सेना, सशस्त्र र महानगरका नगर प्रहरीसँगै थापाथली लगायतका सुकुमबासी बस्ती हटाउनेक्रममा सेना समेत देखिएको थियो। यसबारे उकेराले तस्बिरसहित समाचार प्रकाशित गरेको थियो।
यति मात्रै हैन सेनाले स्थानीय निकायलाई त्यही समयमा सुकुमबासी बस्तीहरूको विवरण मागेको पत्र नै सार्वजनिक भएको थियो।तर बिहीबार प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र रक्षा मन्त्रालयको विनियोजित बजेटमाथि सांसदले सोधेका प्रश्नको उत्तर दिन प्रधानमन्त्री शाह नआएपछि उनको तर्फबाट उत्तर दिँदै अर्थमन्त्री वाग्लेले ‘नेपाल सरकारले नेपाली सेनालाई सुकुमबासी बस्तीमा डोजर लगाई बस्ती हटाउने कार्यमा कुनै पनि स्थानमा खटाएको थिएन," भने।
उनले सुकुमबासी बस्ती हटाउन प्रहरी परिचालन गरेको भने स्विकारे। उनले व्यवस्थापनका क्रममा सेना नभई नेपाल प्रहरीले स्थानीय तहसँग समन्वय गरेर सुरक्षा तथा सहजीकरणको काम गरेको दाबी गरे। उनले जोखिमयुक्त क्षेत्रमा रहेका सुकुमबासी सुरक्षित स्थानमा स्थानान्तरण गर्ने क्रममा नेपाल प्रहरीले स्थानीय तहसँग समन्वय, सुरक्षा र सहजीकरणको प्रबन्ध गरेको दाबी गरे।
उनले राष्ट्रिय सुरक्षा, भौगोलिक अखण्डता र सीमाको रक्षाका लागि सरकारको नीति तथा निर्देशनअनुसार आवश्यकताका आधारमा नेपाली सेनासहित सुरक्षा निकायको उपस्थिति मुलुकका विभिन्न क्षेत्रमा रहने तर्क गरेका थिए। उनले सुरक्षा निकायको नियमित जिम्मेवारी र सुकुम्बासी व्यवस्थापनका क्रममा भएको सुरक्षा सहजीकरणलाई फरक रूपमा बुझ्न समेत आग्रह गरे।
असार ४, २०८३ बिहीबार २०:३१:२७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।
सेनासहितको सुरक्षा व्याकअपमा भत्काइयो सुकुमबासी बस्ती, सुरक्षामा प्रहरी र सशस्त्रको ब्यारेक सुरक्षा प्रणाली