बीमा क्षेत्रमा मेटलाइफको नयाँ फड्को : गम्भीर रोग लागे तत्काल आर्थिक राहत

बीमा क्षेत्रमा मेटलाइफको नयाँ फड्को : गम्भीर रोग लागे तत्काल आर्थिक राहत

काठमाडौं : मेटलाइफ नेपालले गम्भीर प्रकृतिका रोगको निदानपछि बीमितलाई तत्काल आर्थिक राहत प्रदान गर्ने उद्देश्यले ‘क्रिटिकल इल्नेस प्लस’ नामक नयाँ राइडर सार्वजनिक गरेको छ। 

मेटलाइफले व्यक्तिगत जीवन बीमा योजनालाई थप सुदृढ बनाउन नयाँ सुविधा ल्याएको जनाएको छ। क्यान्सर, स्ट्रोक, मिर्गौला फेल, कलेजोको रोग, मुटुसम्बन्धी रोग र प्रमुख अङ्ग प्रत्यारोपण लगायत ११ वटा प्रमुख गम्भीर रोगहरू समेटिएका छन्। 

बीमा सम्झौताअनुसार उल्लेखित रोगको पुष्टि भएपछि कम्पनीले बीमितलाई एकमुष्ट रकम भुक्तानी गर्नेछ। अस्पतालको खर्च मात्र नभई उपचारपछिको पुन:स्थापना, आम्दानीमा हुने कमी र दीर्घकालीन हेरचाहका कारण पर्ने आर्थिक भारलाई समेत उक्त योजनाले सम्बोधन गर्ने मेटलाइफको विश्वास छ। 

किफायती र सहज पहुँचलाई ध्यानमा राखेर डिजाइन गरिएको राइडरलाई आफ्नो योग्य व्यक्तिगत बीमा योजनासँग जोड्न सकिनेछ। जसले गम्भीर रोगको निदानपछि बीमितलाई उपचार र स्वास्थ्य सुधारमा ध्यान केन्द्रित गर्न मद्दत पुर्याउने उद्देश्य राखेको छ।

मेटलाइफ नेपालका महाप्रबन्धक निर्मल काजी श्रेष्ठले गम्भीर रोगले व्यक्तिको स्वास्थ्य र आर्थिक दुवै पक्षमा पार्ने प्रभावलाई मध्यनजर गर्दै नयाँ योजना ल्याइएको बताए। व्यक्तिगत राइडरसँगै मेटलाइफले आफ्नो ‘ग्रुप क्रिटिकल इल्नेस राइडर’लाई पनि परिमार्जन गरेको छ। 

अब रोजगारदाताहरूले आफ्ना कर्मचारी र तिनका परिवारका लागि १४ वा २० वटा गम्भीर रोगहरूसम्मको सुरक्षा विकल्प छनौट गर्न सक्नेछन्। यस परिमार्जनले रोजगारदाताका लागि लागत प्रभावकारी हुने र कर्मचारी सुविधालाई थप सुदृढ बनाउने मेटलाइफको दाबी छ। 

असार ४, २०८३ बिहीबार २०:०४:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।