‘हामीलाई पानी बाँड्ने मान्छे भन्छन्’ भन्दै रोस्टममै रोक्न सकेनन् गृहमन्त्री गुरुङले हाँसो

‘हामीलाई पानी बाँड्ने मान्छे भन्छन्’ भन्दै रोस्टममै रोक्न सकेनन् गृहमन्त्री गुरुङले हाँसो

काठमाडौं : छानबिन समितिको प्रतिवेदन गोप्य राखी पुनः गृह मन्त्रालयको जिम्मेवारीमा फर्काइएका मन्त्री सुधन गुरुङ बिहीबार आफ्नो मन्त्रालयसँग सम्बन्धित विनियोजन शीर्षकमाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिन प्रतिनिधि सभाको रोस्टममा उभिए।

विवादित बिचौलिया दीपक भट्टसँगको सम्बन्ध, शंकास्पद सम्पत्ति विवरण, त्यसको नाटकीय छानबिन र सफाइको प्रक्रिया पूरा गरी पुनः गृहमन्त्रीको कुर्सीमै फर्किएका उनी पहिलो पटक छलफलमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिन रोस्टममा उक्लिएका थिए। 

रोचक विषय के छ भने- जवाफ दिँदै जाँदा तिर्खा लागेपछि उनलाई पानी पिउनेक्रममा हाँसो लागेको थियो। उनले हाँसो थाम्न सकेनन्। उनी हाँस्दा प्रतिनिधिसभा बैठकमा उपस्थित सांसदहरुमा पनि उठेको हाँसोले सदन गुञ्जायमान बन्यो। 

गृहमन्त्री गुरुङले जवाफ दिने क्रममा सानो स्वरमा पानी खाए जिस्काउलान् भनेर मुस्कुराएका थिए। त्यसपछि हाँस्दै उनले रोस्टमबाट पानी झिकेर पिउन थाले। पानी पिएपछि हाँस्दै उनले 'हामीलाई पानी बाढ्ने मान्छे भनेर भन्छन्' भनेका थिए। त्यसपछि सदनमा उठेका प्रश्नको जवाफ दिन अगाडि बढ्न खोज्दा उनमा अझ ठूलो हाँस्यो उठ्यो।

रोकिन हातले इसारा गर्दै उनले टाउको झुकाएर हाँस्न थाले। उनी हासेको देखेपछि संसदमा एकछिन हाँसोको माहोल बन्यो। हाँसोको माहोल रोकिएपछि उनी अगाडि जवाफ दिन थाले। 'आफूलाई पानी बाढ्ने मान्छे भनेर भन्छन्' भनेर सम्झिएको प्रसंग जेनजी आन्दोलनसँग सम्बन्धित थियो। 

गत भदौ २३ र २४ को जेनजी आन्दोलनको क्रममा उनी सडकमा पानी बाढ्ने भूमिकामा देखिएका थिए। जेनजी आन्दोलनमा उनको भूमिकालाई शंकास्पद पनि मानिन्छ। आन्दोलनको सफलतापछि गुरुङको आन्दोलन हाइज्याकरको छवि बनेको थियो। 

आन्दोलनपछि भएको निर्वाचनमा उनी गोरखाबाट निर्वाचित भए। उनको दल राष्ट्रिय स्वतन्त्र पार्टीले करिब दुई तिहाइ सिट प्राप्त गरेपछि पार्टीका वरिष्ठ नेता वालेन्द्र शाहको नेतृत्वमा सरकार गठन भएपछि उनी गृहमन्त्री बने।

बिचौलिया भट्टसँगको सम्बन्ध, शंकास्पद सम्पत्ति विवरणसहित एकपछि अर्को विवादमा तानिएपछि उनी राजीनामा दिन बाध्य भएका थिए। सरकारले उनीमाथि छानबिन गर्न समिति बनायो। उक्त समितिको प्रतिवेदन सार्वजनिक नगरी प्रधानमन्त्री वालेन्द्र शाहले उनलाई गृहकै जिम्मेवारीमा फर्काएका थिए। 

उनले राजीनामा दिएको केहिसमयमा राष्ट्रिय मानवअधिकार आयोगले जेनजी आन्दोलनको क्रममा भएका घटनाको सम्बन्धमा अनुसन्धान गरी तयार गरेको प्रतिवेदन सार्वजनिक भयो। प्रारम्भदेखि नै गुरुङको भूमिका शंकास्पद देखिएको थियो। गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन उनको भूमिकाबारे प्रवेश नगरे पनि राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ को आन्दोलन भड्काउन अनि मानव अधिकार उल्लंघनमा उनको भूमिकामाथि गम्भीर प्रश्न उठाएको थियो। 

उनले राजीनामा दिँदा आयोगको प्रतिवेदन आइसकेको थिएन। जेठको दोस्रो साता सार्वजनिक भएको आयोगको प्रतिवेदनको सारांश र सिफारिस खण्डमा उल्लेख गरिएका विवरणहरू निकै गम्भीर छन्। आयोगले भदौ २३ को आन्दोलनमा सुधनले कमान्ड सम्हालेपछि नै एभरेस्ट होटल अगाडि प्रहरीको ब्यारिकेड तोड्ने काम भएको र त्यसपछि प्रदर्शन हिंसात्मक भएको उल्लेख गरेको छ।

आयोगको प्रतिवेदनमा भदौ २३ मा विद्यार्थीहरूलाई 'मानव ढाल' को रूपमा प्रयोग गरिएको, प्रदर्शन शान्तिपूर्ण र हिंसात्मक बनाउन चाहने दुई समूह रहेको उल्लेख छ। प्रदर्शन शान्तिपूर्ण गराउने भनेर अनुमति मागेका सुधनले नै आन्दोलन सुरु हुनुभन्दा अगाडि (आन्दोलन हिंसात्मक भएको अवस्थामा आवश्यक पर्ने उपचारका लागि) टेन्ट, तीन वटा एम्बुलेन्स र स्वास्थ्य भोलेन्टियरहरू परिचालन गर्नुलाई आयोगको प्रतिवेदनले निकै शंकास्पद रूपमा उल्लेख गर्दै सुधनमाथि छानबिन गर्न सिफारिस गरेको थियो।

असार ४, २०८३ बिहीबार १९:०४:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।