मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्य राखेर पूर्व तयारीमा जुट्न गृहमन्त्रीको निर्देशन

मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्य राखेर पूर्व तयारीमा जुट्न गृहमन्त्रीको निर्देशन

काठमाडौं : गृहमन्त्री सुधन गुरुङले मनसुनजन्य विपद्का समयमा शून्य मानवीय क्षतिको लक्ष्य राखेर पूर्व तयारीका कार्यलाई अगाडि बढाउन निर्देशन दिएका छन्। 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा आयोजित विशेष बैठकमा उनले विपद् व्यवस्थापन तथा पूर्व तयारीका सम्बन्धमा शून्य मानवीय क्षतिको पक्षमा मन्त्रालय रहेकाले सोहीअनुसार कार्यक्रम अघि बढाउनुपर्ने बताए।

देशका बाढी पहिरो एवं प्राकृतिक विपद्बाट प्रभावित क्षेत्रको पहिचान गरी नीति तथा कार्यक्रम अघि बढाउन निर्देशन दिँदै उनले भन्नुभयो, “एकीकृत सोचका साथ राहत उद्धारमा संलग्न निकायबीच सहयोग र सहकार्य गरी जनधनको क्षति कम गर्ने गरी काम हुन आवश्यक छ। विपद्कै कारण अनाहकमा कसैको ज्यान गएको खबर अब सुन्न नपरोस्।”

परम्परागत कार्यशैलीबाट माथि उठी काम गर्न निर्देशन दिँदै गुरुङले भने, “हामी सधैँ विपद् आइसकेपछि मात्र उद्धार र राहतमा खटिने गर्छौं, जसका कारण अपेक्षाकृत नतिजा आउन सकेको छैन। अब यो प्रवृत्ति सुधार्दै विपद् आउनु पूर्व नै सजग र पूर्व तयारीमा रहनेतर्फ सम्बद्ध सबै पक्षको ध्यान जान आवश्यक छ।”

विगतमा बाढी पहिरो प्रभावित क्षेत्रको निरीक्षणका नाममा हेलिकप्टरको चरम दुरुपयोग भएको टिप्पणी गर्दै उनले असान्दर्भिक एवं अनधिकृत पदाधिकारीले हेलिकप्टरमा भ्रमण गरेर राज्यको सम्पत्ति दुरुपयोग गर्ने छुट अब कसैलाई पनि नरहेको स्पष्ट गरे।

उनले हेलिकप्टर चढेर राज्यको सम्पत्ति दुरुपयोग गर्ने पक्षमा आफू नरहेको स्पष्ट गर्दै राहत तथा उद्धारमा संलग्न सुरक्षा निकायका कर्मचारीबाहेक अन्य कसैले पनि विपद्को बहानामा हेलिकप्टर चढ्न नपाउने व्यवस्था कडाइका साथ लागू गरिने बताए।  

असार ४, २०८३ बिहीबार १५:४७:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।