‘खुट्टा भाँच्ने’ अभिव्यक्तिबारे संसद्मा मन्त्री र सांसदबीच सवालजवाफ
काठमाडौं : प्रतिनिधि सभाको बिहीबारको बैठकमा पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले ठेकेदारको खुट्टा भाँच्ने भनी दिएको अभिव्यक्तिमा मन्त्री लम्साल र सांसदबीच सवालजवाफ भएको छ।
एमालेका प्रमुख सचेतक ऐन महरले ठेकेदारको कुन खुट्टा भाँच्ने वा त्यो अभिव्यक्ति कानुनसम्मत छ कि छैन भनेर सोधेका थिए। उनले मन्त्री लम्सालको कार्यशैली र अभिव्यक्तिमाथि कानुनी प्रश्न उठाएका थिए। ठेकेदारहरूको 'खुट्टा भाँच्ने' भनी दिएको आदेश र मन्त्रालयमै बोलाएर गालीगलौज तथा धम्की दिने कार्य कानुनसम्मत भए-नभएको स्पष्ट पार्न माग गरे।
"मन्त्री ज्युले खुट्टा भाँच्ने आदेश दिनु भएको थियो। त्यो कानुन बमोजिम थियो कि थिएन ? दाहिने खुट्टा भाँच्न पर्ने हो कि देब्रे खुट्टा ?" महरले प्रश्न गरे, "मन्त्रीको हैसियतबाट दिन मिल्ने आदेश हो कि होइन ? ठेकेदारलाई मन्त्रालयमा बोलाएर थर्काउने र धम्क्याउने कुरा कानुन बमोजिम छ कि छैन ?"
मन्त्री लम्सालले खुट्टा भाँच्ने अभिव्यक्तिबारे उठाइएको प्रश्नमा प्रष्टीकरण दिए। आफ्नो नियत गलत नरहेको उनको जवाफ थियो। ठेकेदारले काम गरोस् भन्ने आफ्नो आशय रहेको उनले प्रष्ट्याए।
काम नगर्दा ठेकेदार सँगसँगै आयोजनाको काम र ऋण दिने बैंकसम्ममा असर गर्ने भएकोले उनीहरुलाई अप्ठेरोमा पार्न नभई दबाब दिएर भएपनि काम गराउने आफ्नो आशय रहेको उनको भनाइ थियो।
महरले बजेट विनियोजनमा दुर्गम क्षेत्रलाई उपेक्षा गरिएको भन्दै सरकारको आलोचना गरे। बिहीबार प्रतिनिधि सभाको बैठकमा उनले भौतिक पूर्वाधारको विकास दुर्गममा बढी आवश्यक भए पनि बजेट नपरेको बताए।
महरले आफ्नो गृह जिल्ला बझाङका रणनीतिक सडक आयोजनाहरू खोड्पे-चैनपुर, चैनपुर-ताक्लाकोट र खुटिया-दिपायल-चैनपुर सडकमा बजेट विनियोजन गर्दा कन्जुस्याइँ गरिएको बताए।
"भौतिक पूर्वाधारको विकाश दुर्ग क्षेत्रतिर बढी आवश्यक हुन्छ। तर बजेटमा त्यस्तो देखिएन। दुर्गम क्षेत्रमा पर्याप्त मात्रमा बजेट गएको छैन," उनको प्रश्न छ, "मेरो जिल्ला बझाङमा बजेट नछुट्याउनुपर्ने कारण के हो ?"
बजेट विनियोजनको मापदण्ड स्पष्ट पार्न माग गर्दै उनले राष्ट्रिय स्वतन्त्र पार्टीले जितेको ठाउँमा मात्र बजेट जाने हो भनेर प्रश्न गरे। उनको प्रश्नको जवाफ दिँदै मन्त्री लम्सालले दुर्गम क्षेत्रमा राम्रै बजेट पठाएको बताए। संसदमा
असार ४, २०८३ बिहीबार १५:२४:५३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।