चितवनमा हुने पहिलो महाधिवेशनका लागि कस्तो छ रास्वपाको तयारी?
चितवन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको अन्तिम नामावली तयार गर्ने काम सुरु गरिएको छ।
उक्त पार्टीको पहिलो महाधिवेशन चितवन जिल्लाको भरतपुरमा यही असार ७ देखि ९ गतेसम्म हुने भएकाले निर्वाचनमा मतदान गर्ने प्रतिनिधिको नामावली तयारी हुन लागेको हो।
केन्द्रीय सङ्गठन विभागका सचिव शङ्कर श्रेष्ठले मधेस प्रदेश र विभिन्न १३ जिल्लामा निर्वाचन हुन नसकेका स्थानमा जिल्ला तदर्थ समितिबाटै प्रतिनिधि चयन गराइने जानकारी दिए।
त्यसैगरी, २०७९ को आम निर्वाचनमा उम्मेदवार भई निर्वाचित हुन नसकेका प्रत्यक्ष र समानुपातिक उम्मेदवारहरूलाई समेत प्रतिनिधिका रूपमा सहभागी गराइने भएको छ।
यस्तै पालिका सभापति, पालिकाको अधिवेशनबाट छनोट भएका महाधिवेशन प्रतिनिधि, केन्द्रीय समिति र केन्द्रीय संरचनामा रहेका प्रतिनिधिहरू महाधिवेशन प्रतिनिधिमा रहने छन्।
केन्द्रका ३८ विभागका ११ जनाका दरले रहेका समितिका सदस्यहरू महाधिवेशन प्रतिनिधिका रूपमा हुनेछन्। तीन आयोगका ११ जनाका दरले रहेका सदस्यहरू र सल्लाहकार पनि प्रतिनिधिका रूपमा रहने छन्।
सङ्घीय नेतृत्व मञ्चका सबै सदस्यहरू, सातै प्रदेशका प्रदेश समिति, प्रदेश विभागका प्रमुख, उपप्रमुख र सचिव, जिल्ला समितिका सभापतिसहित पाँच जना महाधिवेशनका लागि प्रतिनिधि बन्नेछन्।
विभिन्न जिल्लाका ‘जिल्ला-काठमाडौं सम्पर्क विभाग’का प्रमुखहरू, निर्वाचन क्षेत्रका संयोजक र उपसंयोजक पनि प्रतिनिधि रहनेछन्। विभिन्न २५ देशबाट प्रतिनिधिहरू आउने तय भएको छ। ती देशबाट सङ्ख्याका आधारमा तीनदेखि ११ जनासम्म प्रतिनिधि आउने श्रेष्ठले बताए।
यससँगै केन्द्रीय सभापतिले विशेष निर्णयमार्फत दुई सय जना महाधिवेशन प्रतिनिधि मनोनयन गर्न पाउने व्यवस्था रहेको छ।
विधान र पार्टीको निर्णय अनुसार महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको सूचि तयार गरिँदै छ। महाधिवेशन प्रतिनिधिको यकिन सङ्ख्या साँझसम्ममा तय हुने उनले बताए।
यसैसाथ महाधिवेशनमा पर्यवेक्षकका रूपमा सहभागी हुनेहरूको सूची पनि तयार हुँदैछ। महाधिवेशनमा सहभागी हुनका लागि राष्ट्रिय मान्यता प्राप्त दलहरू, विशिष्ट व्यक्तित्व, विदेशी पार्टी तथा अन्य निकायलाई निमन्त्रण पठाउने काम भइरहेको बताइन्छ।
महाधिवेशनको पहिलो दिन असार ७ गते भरतपुरको गेष्टहाउस मैदानमा उद्घाटन गरिँदै छ । ८ र ९ गते मैदान नजिकै रहेको उद्योग सङ्घको प्रदर्शनी केन्द्रमा बन्दसत्र हुनेछ।
महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दैछ। पहिलो चरणमा एक जना सभापति र ९९ जना सदस्य चयन गर्दैछ। निर्वाचित सदस्यबाट दोस्रो चरणमा तीन जना उपसभापति, दुई जना महामन्त्री र चार जना सहमहामन्त्रीका लागि निर्वाचन हुने श्रेष्ठले जानकारी दिए।
महाधिवेशन तयारीका लागि केन्द्रीय नेताहरू आउने क्रम सुरु भइसेको छ। महाधिवेशन मूल आयोजक समितिअन्तर्गतका १८ वटा उपसमितिले आ-आआफ्नो काम गरिरहेका छन्।
असार ४, २०८३ बिहीबार १४:३७:५६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।