सांसदका माग १५ वर्षपछि पूरा हुँदै जान्छन्, अर्थतन्त्र रातारात सुध्रिँदैन : मन्त्री पुन
काठमाडौं : मुलुकको अर्थतन्त्र रातारात सुधार नहुने भन्दै विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले संसद्मा सांसदहरूले उठाएका विकास र समृद्धिका मागहरू पूरा हुन कम्तीमा १५ वर्ष लाग्ने बताएका छन्।
उनले कुनै राजनीतिक भाषण वा अर्ती नभई देशको व्यावहारिक र वास्तविक धरातल यही भएको बताए।
नेपालमा अवसर नपाएर ठूलो संख्यामा युवाहरू विदेशिएका समस्यालाई आफूले नजिकबाट बुझेको मन्त्री पुनले बताए।
नवीन सोच भएका र प्रतिभाशाली युवाहरूलाई स्वदेशमै रोक्नका लागि सरकारले नीति र नियमहरू बनाएर काम गरिरहेको उनको भनाइ छ।
उनले भने, ‘नवीन सोच भएका उत्कृष्ट जनशक्तिलाई स्वदेशमै अल्झाएर राख्न सकिन्छ कि भनेर यो मन्त्रालय खोलिएको हो। यो मन्त्रालयरूपी जालोमा कतिलाई रोक्न सकिन्छ, त्यो त भविष्यले नै बताउनेछ।’
विकास र समृद्धि सोचे जस्तो छिटो नहुने स्पष्ट पार्दै मन्त्री पुनले नेपालको अर्थतन्त्र पनि तत्कालै तीव्र गतिमा बढ्ने सम्भावना नरहेको जिकिर गरे।
उनले थपे, ‘अहिलेको सरकार जुन जोस र जाँगरका साथ अघि बढेको छ, यही गतिमा निरन्तर काम गर्ने हो भने पनि एउटा निश्चित स्तरमा पुग्न कम्तीमा १५ वर्ष लाग्छ। माननीयज्यूहरूले राख्नुभएका मागहरू पनि १५ वर्षपछि बिस्तारै पूरा हुँदै जानेछन्। तर, सबै माग पूरा हुन सक्दैनन्, किनकि मन्त्रीका रूपमा मेरा आफ्नै धेरै मागहरू पनि पूरा भएका छैनन्।’
यथार्थलाई स्वीकार गरेर मात्र अघि बढ्न सकिने भन्दै मन्त्री पुनले देशको वास्तविक अवस्थालाई बुझेर योजनाहरू बनाउनुपर्नेमा जोड दिए।
असार ४, २०८३ बिहीबार १४:१०:२४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।