महावीर पुनले एक घण्टा लगाएर जवाफ दिएपछि हर्कले भने- ‘समयको ख्याल गर्नुस्’
काठमाडौं : बजेटमाथिको छलफलको क्रममा बिहीबार प्रतिनिधि सभाको बैठकमा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले सांसदहरुले उठाएको प्रश्नको जवाफ दिए।
जवाफ दिने क्रममा उनले लामो समय खर्चिए। करिव एक घण्टा समग्र प्रश्नको जवाफ दिएका मन्त्री पुनले त्यसपछि सांसदहरुले राखेको स्पष्टिकरणको जवाफ दिने क्रम अहिले पनि जारी छ।
जवाफ दिने क्रममा उनले कानुन नबनेर काम गर्न समस्या भएको गुनासो गरेका थिए। यस्तै नयाँ मन्त्रालय भएकाले आफूले गोजीबाट रकम झिकेर खर्च गर्नुपरेको समेत बताएका थिए।
उनले धेरै लामो समय लगाएर प्रश्नको जवाफ दिएपछि श्रम संस्कृति पार्टीका सांसद हर्कराज राईले मन्त्रीले काम गुनासो गर्ने नभएर सम्बोधन गर्ने भएको स्मरण गराएका थिए।
सांसद् राईले मन्त्री पुनलाई आफू सत्तापक्ष हुँ वा प्रतिपक्षी भन्ने मनन गर्नसमेत आग्रह गर्दै समयको समेत ख्याल गर्न आग्रह गरे।
हर्कले भने, ‘मन्त्रीज्यूले लामै कुराहरु सुनाउनुभयो। सरकारले गुनासो गर्ने हैन। मन्त्रीज्यू सत्तापक्ष हो वा प्रतिपक्ष भन्ने कुरा थाहा हुनुपर्छ। यस्तो कानुन भएन उस्तो कानुन भएन भनेर लामो गीत सुनाउनुभयो यहाँले। अर्कोचोटीदेखि समयको ध्यान दिनुपर्छ जस्तो लाग्छ।’
असार ४, २०८३ बिहीबार १३:५४:३४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।