अख्तियार प्रमुखलाई प्रधानमन्त्री कार्यालयमै थुनेर दबाब दिएको आरोप, कांग्रेसद्वारा संसदीय छानबिनको माग
काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख र पदाधिकारीहरूलाई नियन्त्रणमा लिएर दबाब दिएको भन्दै गम्भीर आपत्ति जनाएको छ।
बिहीबार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै कांग्रेस सांसद नरेन्द्रकुमार केरुङले यस घटनाको सत्यतथ्य छानबिन गर्न तत्काल ‘संसदीय छानबिन समिति’ गठन गर्न माग गरे। साथै, उनले यस विषयमा प्रधानमन्त्री बालेन शाह स्वयं संसद्मा उपस्थित भएर प्रष्टीकरण दिनुपर्ने अडान राखे।
सांसद केरुङले पत्रकार सीताराम बरालले सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेको विषयलाई उद्धृत गर्दै सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयभित्रै अख्तियारका प्रमुख आयुक्त र अन्य पदाधिकारीहरूलाई थुनेर राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालविरुद्ध पक्राउ पुर्जी जारी गर्न बाध्य पारिएको दाबी गरे।
‘नागरिक सर्वोच्चता भएको मुलुकमा सुशासनको नारा दिएर स्थापित भएको सरकारको कार्यशैलीप्रति लज्जास्पद विषय बाहिर आएको छ,’ सांसद केरुङले संसद्मा भने, ‘अख्तियारका प्रमुख र पदाधिकारीहरूलाई प्रधानमन्त्री कार्यालयमा थुनेर पक्राउ पुर्जी जारी गर्न बाध्य बनाउने र नभए निजहरूलाई नै थुन्ने धम्की दिइएको कुरा बाहिरिएको छ। यदि यो साँचो हो भने यो लोकतन्त्रको उपहास हो। यसको सत्यतथ्य बाहिर आउनैपर्छ।’
हालै राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई नियन्त्रणमा लिएर अख्तियारले बयान लिएको सन्दर्भ जोड्दै सांसद केरुङले संवैधानिक निकायको आफ्नै अधिकार र कार्यक्षेत्र हुने स्मरण गराए।
यसका साथै, सांसद केरुङले प्रधानमन्त्री शाहले केही समयअघि संसद्मा सीमा विवादका विषयमा दिएको ‘नेपालले पनि भारतको भूमि मिचेको रहेछ’ भन्ने विवादास्पद अभिव्यक्ति संसद्को अभिलेख (रेकर्ड) बाट तत्काल हटाउनुपर्ने माग समेत पुनः दोहोर्याए।
असार ४, २०८३ बिहीबार १२:११:३७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।