मन्त्रीहरूले नियम नमानेपछि संसद्मा ऐन महरको नियमापत्ति, रुलिङ गर्न माग
काठमाडौं : प्रतिनिधिसभा बैठकको मर्यादा र नियमावली उल्लंघन गरेको भन्दै एमाले सांसद ऐनबहादुर महरले सरकारका मन्त्रीहरूमाथि गम्भीर आपत्ति जनाएका छन्।
संसद्को गरिमा जोगाउनु पर्ने मन्त्रीहरूले नै सबैभन्दा बढी नियम मिचिरहेको भन्दै महरले संसद्मै नियमापत्ति जनाएका हुन्।
बुधबारको बैठकमा नेकपा सांसद् रमेश मल्लले बोलिसकेपछि उनले नियमापत्तिका लागि समय मागे। सभामुखले समय दिएपछि बोलेका उनले प्रतिनिधिसभा नियमावलीको नियम २० को खण्ड ‘छ’ मा उल्लेखित व्यवस्था स्मरण गराए।
उक्त नियम अनुसार ‘सभामुखको आसन र संसद्मा बोलिरहेको सदस्यको बीचबाट कोही पनि हिँड्न नहुने’ प्रष्ट नियमको व्यवस्था छ।

तर, बैठकमा सांसद रमेश मल्ल बोलिरहेका बेला दुई जना बहालवाला मन्त्रीहरू सभामुख र मल्लको बीचबाटै हिँडेपछि सांसद महरले मन्त्रीहरूको सो हर्कतको संसद्मै निन्दा गरे।
सांसद महरले आक्रोशित हुँदै भने, ‘सदनको गरिमा राख्नु हामी सबैको, अझ सरकारको त झन् बढी जिम्मेवारी हो। तर विडम्बना, मन्त्रीज्यूहरू नै सांसद बोलिरहेको देख्दादेख्दै बीचबाट हिँडिरहनुभएको छ। उहाँहरूले गर्नै नहुने काम गर्नुभएको छ।’
मन्त्रीहरूको यस्तो गैरजिम्मेवार व्यवहारप्रति कडा आपत्ति जनाउँदै सांसद महरले संसद्को मर्यादा कायम राख्न सभामुखबाट मन्त्रीहरूका नाममा तत्काल ‘रुलिङ’ जारी गर्न माग गरेका छन्।
यद्यपि उनले मन्त्रीहरूको नाम भने लिएनन्। त्यतिबेला संसद्को लाइभ फिडमा परराष्ट्रमन्त्री शिशिर खनाललाई देखाइएको थियो।
असार ४, २०८३ बिहीबार ११:५७:४१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।