प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउन र संसद्मा रक्षा मन्त्रीलाई उपस्थित गराउन हर्क साम्पाङको माग
काठमाडौं : श्रम संस्कृति पार्टीका सांसद हर्कराज राई (साम्पाङ) ले प्रतिनिधिसभा बैठकमा रक्षा मन्त्रीलाई तत्काल उपस्थित गराउन र प्रधानमन्त्रीले सीमा विवादबारे दिएको अभिव्यक्ति सच्याउन माग गरेका छन्।
आजको प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद साम्पाङले यी विषयहरू उठाएका हुन्।
बैठकमा रक्षा मन्त्रालयअन्तर्गतको बजेटमाथि छलफल सुरु हुन लाग्दा पनि रक्षा मन्त्री संसद्मा उपस्थित नभएको भन्दै उनले नियमापत्ति जनाए। रक्षा मन्त्रालयको जिम्मेवारी अहिले प्रधानमन्त्री वालेन्द्र शाहले नै लिँदै आएका छन्।
साम्पाङले भने, ‘हामी रक्षा मन्त्रालयअन्तर्गतको बजेटमाथि छलफल गर्न लागिरहेका छौँ, तर रक्षामन्त्रीज्यू आउनुभएको छैन। उहाँलाई तत्काल संसद्मा बोलाइयोस्।’
यसका साथै, रक्षा मन्त्रालयको बजेट पुस्तिका (बजेटको किताब) अहिलेसम्म सांसदहरूलाई उपलब्ध नगराइएको भन्दै उनले सभामुखको ध्यानाकर्षण गराए।
‘रक्षा मन्त्रालयको बजेटको किताब हुन्छ कि हुँदैन? यदि हुने चलन हो भने त्यो किताब हामीलाई किन दिइएन?’, उनले प्रश्न गरे।
सांसद साम्पाङले प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले सीमा विवादका विषयमा संसद्मा दिएको विवादित अभिव्यक्ति सच्याउनु पर्ने माग समेत राखेका छन्।
गत जेठ १७ गतेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री शाहले ‘नेपालले पनि भारतको भूमि मिचेको रहेछ’ भनी दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै साम्पाङले प्रधानमन्त्री आफैँ सदनमा उपस्थित भएर उक्त भनाइ सच्याउनु पर्ने माग गरे।
असार ४, २०८३ बिहीबार ११:४३:४४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।