पास्नीको भोज खाँदा २५ जना बिरामी, गर्भवतीसहित नौ जनालाई काठमाडौं पठाइयो
धादिङ : धादिङको गजुरी गाउँपालिका-१ बरेछापमा पास्नीको भोज खाँदा फुड पोइजनिङ भई २५ जना बिरामी परेका छन्। बिरामीमध्ये ९ जनाको अवस्था जटिल भएकाले थप उपचारका लागि काठमाडौं रिफर गरिएको छ।
स्थानीय सहदेव बस्यालकी छोरीको पास्नीको भोज मंगलबार साँझ आयोजना गरिएको थियो। भोज खाएर फर्किएका छिमेकी तथा आफन्तहरूलाई बुधबार दिउँसो १२ बजेदेखि बान्ता आउने, पेट दुख्ने र पखाला लाग्ने जस्ता समस्या देखिन थालेको प्रहरीले जनाएको छ।
घटनाबारे इलाका प्रहरी कार्यालय गजुरीलाई बुधबार साँझ ५:०० बजे जानकारी प्राप्त भएको थियो।
भोज खाएर बिरामी परेकाहरूलाई तत्काल गजुरी प्राथमिक स्वास्थ्य केन्द्र र गजुरी अस्पताल प्रालिमा उपचारका लागि लगिएको थियो।
बिहीबार विहानसम्मको विवरण अनुसार १४ जना उपचारपछि निको भएर डिस्चार्ज भइसकेका छन् भने २ जना को गजुरीमै उपचार भइरहेको छ। नौ जना लाई थप उपचारका लागि काठमाडौं रिफर गरिएको छ।
काठमाडौं पठाइएकामध्ये हैजाको जस्तो लक्षण देखिएका दुई महिला र एक बालकसहित ७ जना को शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु) मा उपचार भइरहेको छ।
यस्तै, गर्भवती रहेकी ३२ वर्षीया सीता बस्याललाई प्रसूति गृह थापाथली र अन्य १ जनालाई मनमोहन अस्पताल काठमाडौं पठाइएको छ। प्रहरीले घटनाको सम्बन्धमा थप आवश्यक विवरण संकलन गरिरहेको जनाएको छ।
असार ४, २०८३ बिहीबार १०:३०:०७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।