बजेटमाथि उठेका प्रश्नको प्रधानमन्त्री वालेन्द्र शाहसहित मन्त्रीहरूले जवाफ दिने

बजेटमाथि उठेका प्रश्नको प्रधानमन्त्री वालेन्द्र शाहसहित मन्त्रीहरूले जवाफ दिने

काठमाडौं : संघीय संसद् प्रतिनिधिसभाको दोस्रो अधिवेशनअन्तर्गत आज बिहीबार बैठक बस्दैछ।

बिहान ११ बजे बस्ने बैठकमा विनियोजन विधेयक, २०८३ माथिको छलफलका क्रममा उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरू र प्रधानमन्त्रीले जवाफ दिने कार्यसूची रहेको छ।

आजको बैठकमा विशेष गरी प्रधानमन्त्री वालेन्द्र शाहले सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने कार्यक्रमलाई महत्त्वका साथ हेरिएको छ।

प्रधानमन्त्री शाहले आफ्नो कार्यक्षेत्रभित्र पर्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका साथै आफूले सम्हाल्दै आएको रक्षा मन्त्रालयसँग सम्बन्धित प्रश्नहरूको जवाफ दिनेछन्।

यसबाहेक उपराष्ट्रपतिको कार्यालय तथा राष्ट्रपतिको कार्यालयसँग सम्बन्धित शीर्षकहरूमा उठेका प्रश्नहरूको जवाफ पनि प्रधानमन्त्री शाहले नै दिने कार्यसूची रहेको छ।

संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार अन्य विभिन्न मन्त्रालयका मन्त्रीहरूले पनि आ–आफ्नो मन्त्रालयसँग सम्बन्धित शीर्षकमा जवाफ दिनेछन्।

यसरी जवाफ दिनेहरूमा शिक्षा तथा खेलकुद मन्त्रालय, विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय, गृह मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, परराष्ट्र मन्त्रालय र अर्थ मन्त्रालयका मन्त्रीहरू रहेका छन्।

जवाफ दिने क्रम सकिएपछि सभामुखले विनियोजन विधेयकअन्तर्गत विभिन्न मन्त्रालयका शीर्षकहरूमा सांसदहरूले दर्ता गराएका खर्च कटौतीका प्रस्तावहरूलाई निर्णयार्थ प्रस्तुत गर्नेछन्।

बैठकको अन्तिम कार्यसूची अनुसार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विनियोजन विधेयक, २०८३ पारित गरियोस् भन्ने प्रस्ताव सदनसमक्ष प्रस्तुत गर्नेछन्। बजेट पारित गर्ने प्रक्रियाका हिसाबले आजको बैठकलाई महत्त्वपूर्ण मानिएको छ।

असार ४, २०८३ बिहीबार ०८:१८:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।