अश्लील मेसेज गर्ने ५० जना विरुद्ध सांसद खुस्बुले दिइन् उजुरी, ६० वर्षका व्यक्ति पक्राउ
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुस्बु ओलीले सामाजिक सञ्जालमार्फत हुने अश्लील टिप्पणी, धम्की र साइबर बुलिङमा संलग्न रहेको भन्दै ५० जनाविरुद्ध उजुरी दिएको बताएकी छिन्।
बुधवार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफूले साइबर ब्युरोमा करिब ५० जनाविरुद्ध उजुरी दिएको जानकारी दिइन्।
“मैले करिब ५० जना व्यक्तिको नाममा साइबर ब्युरोमा उजुरी दिएको छु। सबैभन्दा धेरै धम्की दिने र अश्लील सन्देश पठाउने व्यक्तिहरूमाथि कारबाहीको माग गरेकी छु। एकजना पक्राउ परिसक्नुभएको छ” उनले भनिन्।
पक्राउ परेका व्यक्तिसँगको अनुभव सुनाउँदै उनले ६०–६१ वर्षको व्यक्तिले पठाएको सन्देश उनकै श्रीमती र छोराछोरीको अगाडि पढ्नु मुद्दा चलाउँदिन भन्दा त्यो गर्न सक्दिन भनेको बताइन्।
“यसैबाट मानिसहरू कुन तहमा झरेर सन्देश पठाइरहेका छन् भन्ने बुझ्न सकिन्छ,” उनले भनिन्।
ओलीले आफू आलोचना र असहमतिलाई सकारात्मक रूपमा लिने तर व्यक्तिगत घृणा, अश्लीलता र धम्कीप्रति भने शून्य सहनशीलताको नीति अपनाएको बताइन्।
सामाजिक सञ्जाल अहिले ‘असामाजिक’ बन्दै गएको टिप्पणी गर्दै उनले कलाकार, पत्रकार, खेलाडी, राजनीतिज्ञलगायत धेरै सार्वजनिक व्यक्तिहरू साइबर बुलिङको सिकार भइरहेको बताइन्।
साइबर अपराध नियन्त्रणका लागि नेपाल प्रहरी, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल राष्ट्र बैंक र बैंकिङ क्षेत्रलाई समेटेर एकीकृत ‘टास्क फोर्स’ गठन गर्नुपर्ने उनले सुझाव दिइन्।
असार ३, २०८३ बुधबार १८:२४:०२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।