महिला सांसद र सभामुखबीचको ‘हाँसो’बारे संसद्मा चर्चा
काठमाडौं : प्रतिनिधिसभाको बैठकमा महिला सांसद र सभामुखबीचको सामान्य हाँसोलाई लिएर सामाजिक सञ्जालमा भइरहेको नकारात्मक प्रचारबाजी (साइबर बुलिङ) प्रति सांसदले आपत्ति जनाएका छन्।
एमालेकी सांसद एशुदा कुमारी बरालले यस विषयमा संसद्मा बोल्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएकी हुन्।
बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद बरालले सामाजिक सञ्जालमा भइरहेको अनर्गल प्रचारले महिला सांसदहरू लज्जित हुनुपर्ने अवस्था सिर्जना भएको बताइन्।
सांसद बरालले भनिन्, ‘देशमा अहिले साइबर बुलिङ निकै बढेको छ। ९० प्रतिशत महिला सांसदहरूलाई सभामुखसँग जोडेर एउटा सामान्य हाँसोको विषयमा पनि सामाजिक सञ्जालमा नकरात्मक रूपमा प्रचार गरिएको छ। यसले हामी सांसदहरू नै लज्जित भएका छौँ। आखिर हाम्रो समाज कता जाँदैछ? म यसतर्फ सरकारको ध्यानाकर्षण गराउन चाहन्छु।’
पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद रिमा विश्वकर्मा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुस्बु ओलीले संसद्मा बोल्ने क्रममा आफ्नो समय सकिएपछि सभामुखतर्फ हेरेर मुस्कुराएका थिए।
जवाफमा सभामुखले पनि हाँसेर प्रतिक्रिया दिएका थिए। सोही दृश्यलाई लिएर सामाजिक सञ्जालमा विभिन्न खालका ट्रोल तथा नकारात्मक टिप्पणीहरू भइरहेका छन्।
सांसदहरूले संसद्मा मर्यादित प्रस्तुति दिँदादिँदै पनि सामान्य मानवीय हाउभाउ र हाँसोलाई गलत रूपमा व्याख्या गरी सामाजिक सञ्जालमा चरित्रहत्या गर्ने प्रवृत्ति बढेको भन्दै संसद्मा चिन्ता व्यक्त गरिएको छ।
असार ३, २०८३ बुधबार १४:२३:०७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।