प्रतिनिधिसभा बैठकमा तनाव : श्रम संस्कृति पार्टीद्वारा वेल घेराउ, सभामुखले गराए सचेत
काठमाडौं : प्रतिनिधिसभाको बुधबारको बैठकमा विनियोजन विधेयक अन्तर्गत मन्त्रालयगत छलफलका क्रममा तनाव उत्पन्न भएको छ।
मन्त्रीको जवाफमाथि पुनः स्पष्टीकरण सोध्न नदिएको भन्दै श्रम संस्कृति पार्टीका सांसदहरूले संसद्को ‘वेल’ घेराउ गरेका छन्।
बुधबारको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग सम्बन्धित उठेका प्रश्नहरूको जवाफ दिन उद्योगमन्त्री गौरी कुमारी रोष्ट्रममा उभिएकी थिइन्।
मन्त्रीले सांसदहरूका प्रश्नको जवाफ दिइरहेकै समयमा श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्कराज राई साम्पाङले उठेर पुनः स्पष्टीकरण सोध्ने प्रयास गरे।
तर, सभामुख डोलप्रसाद अर्यालले नियमानुसार 'स्पष्टीकरणमाथि पुनः स्पष्टीकरण' सोध्न नमिल्ने भन्दै साम्पाङलाई बस्न आग्रह गरे।
सभामुखको आग्रहका बाबजुद साम्पाङले उठेर अवरोध जारी राखेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले नियमापत्ति जनाए।
सांसद झाले प्रतिनिधिसभा नियमावलीको नियम ५४ र ५५ उल्लेख गर्दै मन्त्रीले जवाफ दिइसकेपछि संसद्मा पटक-पटक विवाद गर्न नमिल्ने बताए।
उनले नियमावली अनुसार मन्त्रीलाई उत्तर दिन अस्वीकार गर्न सक्ने अधिकार समेत रहेको स्पष्ट पार्दै सांसद साम्पाङलाई ‘बालहठ’ नगर्न र नियम पढ्न आग्रह गरे।
झाले संसद्मा भने, ‘पटकपटक वादविवाद गर्ने र मेरो प्रश्नको जवाफ आएन भन्न मिल्दैन। नियमावलीको नियम ५४ मा उत्तर दिन अस्वीकार गर्न सकिने अधिकार पनि उल्लेख छ। म सम्बन्धित माननीयज्यूलाई पटकपटक बालहठ नगर्न र नियम पढ्न आग्रह गर्दछु।’
सांसद झाको नियमापत्ति र सभामुखको निर्देशनका बाबजुद साम्पाङलाई स्पष्टीकरण सोध्न नदिएपछि श्रम संस्कृति पार्टीका सांसदहरू वेल घेराउ गर्न पुगेका थिए।
त्यसपछि सभामुख अर्यालले संसद्को मर्यादा कायम राख्न र सभामुखको आदेश पालना गर्न श्रम संस्कृति पार्टीका सांसदहरूलाई सचेत गराए।
सभामुख अर्यालले भने, ‘सभामुखको आदेशको पालना गर्नु सबै माननीय सदस्यहरूको कर्तव्य हो। कर्तव्य पालना गर्नका लागि श्रम संस्कृति पार्टीका सबै माननीयहरूलाई सचेत गराउँदछु।’
असार ३, २०८३ बुधबार १४:०५:३७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।