प्रतिनिधिसभामा सभामुखको भूमिकामाथि कांग्रेसको प्रश्न, रास्वपाको नियमापत्ति

प्रतिनिधिसभामा सभामुखको भूमिकामाथि कांग्रेसको प्रश्न, रास्वपाको नियमापत्ति

काठमाडौं : नेपाली कांग्रेसका सांसद चन्द्रमोहन यादवले प्रतिनिधिसभा बैठकमा सभामुख डोलप्रसाद अर्यालको तटस्थतामाथि प्रश्न उठाएका छन्।

प्रधानमन्त्री वालेन्द्र शाहल गत जेठ १७ गते प्रधानमन्त्री शाहले संसद्‌मा 'भारतले नेपालको जग्गा मात्र होइन, नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ' भनी दिएको विवादित अभिव्यक्तिमा सभामुखले रुलिङ नगरेको भन्दै यादवले सभामुख अर्यालको पूर्वराजनीतिक आबद्धतामाथि नै प्रश्न उठाए। 

उनले भने, "मलाई सभामुखसँग प्रश्न छ। यो गरिमामय कुर्सीमा बस्नु पहिला एउटा पार्टीमा आबद्ध हुनुहुन्थ्यो। के सभामुख महोदय अहिलेसम्म पहिलेको जो पार्टी थियो रास्वपा त्योसँगको नाभि काट्न सक्नुभएको छैन कि के हो?" 

सभामुखको आचरणमाथि प्रश्न उठाइएपछि रास्वपाका सांसद गणेश कार्कीले नियमापत्ति गरे। 

प्रतिनिधिसभा नियमावलीको नियम २१ (ख) स्मरण गराउँदै सांसद कार्कीले 'सभामुखले पद अनुकूल आचरण गरेको छैन' भन्ने विशेष प्रस्तावमाथिको छलफलबाहेक अन्य समयमा सभामुखको आलोचना गर्न नपाइने व्यवस्था रहेको उल्लेख गरे।

उनले भने, "नियमावलीको २१ को (ख)मा सभामुखले पद अनुकुल आचरण गरेको छैन भन्ने प्रस्तावको छलफलको क्रममा बाहेक सभामुखको आचरणको आलोचना गर्न नहुने यो हामी सबैले मानेको हो। जतासुकै हिलो फालेर विधि बस्दैन भनेर सम्झाउँदै यो बोलेको कुरा रेकर्डबाट हटाउन माग गर्छु।"

आफ्नो आचरणमाथि प्रश्न उठेपछि सभामुख डोलप्रसाद अर्यालले यसप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताए। 

उनले भने, “आजै माननीय सदस्य चन्द्रमोहन यादवले बोल्ने क्रममा बोलिएको शब्दप्रति मेरो ध्यानाकर्षण भएको छ। माननीय सदस्यलाई हाम्रो नियमावलीको नियम २१ तर्फ ध्यानाकर्षण गराउँदछु।”

प्रतिनिधिसभा नियमावलीको नियम २१ मा संसद्‌मा बोल्दा अशिष्ट, अपमानजनक, आपत्तिजनक वा असंसदीय शब्द प्रयोग गर्न नहुने र सभामुखको आचरणको जथाभाभी आलोचना गर्न नपाइने स्पष्ट कानुनी व्यवस्था छ।

असार ३, २०८३ बुधबार १३:२९:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।