किन सीमित देशहरूले मात्र जित्छन् विश्वकप फुटबल?

किन सीमित देशहरूले मात्र जित्छन् विश्वकप फुटबल?

सन् १९३० देखि हालसम्म ८० भन्दा बढी देशहरूले २२ वटा विश्वकप फुटबल प्रतियोगितामा भाग लिइसकेका छन्।

तर, अचम्मको कुरा के छ भने अहिलेसम्म आठवटा देशले मात्र विश्वकपको ट्रफी जित्न सकेका छन्। आखिर किन केही सीमित देशहरू मात्र यो खेलमा सधैँ उत्कृष्ट हुन्छन्?

फुटबलमा सफलता पाउनु खेल मात्र नभएर राजनीतिक रूपमा पनि ठूलो प्रतिष्ठाको विषय मानिन्छ। चीनका राष्ट्रपति सी चिनपिङ र साउदी अरबका राजकुमार मोहम्मद बिन सलमान जस्ता शक्तिशाली नेताहरू पनि फुटबलमा आफ्नो देशले गौरवशाली इतिहास बनाओस् भन्ने चाहन्छन्।

फुटबलको सफलताले देशको जनमानसलाई उत्साहित बनाउँछ र अन्तर्राष्ट्रिय जगतमा देशको छवि सुधार्छ। तर, फुटबलमा सफलता प्राप्त गर्नु सोचे जस्तो सजिलो छैन।

‘द इकोनोमिस्ट’ले फुटबलमा सफलता पाउनुका कारणहरू पत्ता लगाउन एउटा तथ्याङ्कीय मोडेल तयार पारेको थियो। यो मोडेल टोलीहरूको ‘इलो रेटिङ’ (विपक्षी टोलीको स्तर र प्रदर्शन मापन गर्ने चेसबाट प्रभावित प्रणाली) मा आधारित छ।

यस अध्ययनका अनुसार फुटबलमा सफलता प्राप्त गर्न मुख्य रूपमा चारवटा कुराहरू जिम्मेवार हुन्छन्- आर्थिक अवस्था, जनसंख्या, खेलाडीको औसत उचाइ र खेल संस्कृति। यी चार कुराहरूले टोलीको प्रदर्शनको करिब ७० प्रतिशत हिस्सा निर्धारण गर्छन्।

आर्थिक अवस्था, जनसंख्या र उचाइको भूमिका
धनी देशहरूले खेल पूर्वाधार र प्रशिक्षणमा धेरै लगानी गर्छन्, तर धन मात्रै सफलताको ग्यारेन्टी होइन।

अमेरिका धनी छ, तर त्यहाँको अधिकांश लगानी अन्य खेलहरूमा जान्छ। खाडी मुलुकहरू पनि निकै धनी र फुटबलका सौखिन छन्, तर मैदानमा उनीहरूको प्रदर्शन अझै पनि कमजोर छ।

अर्को भनेको जनसंख्या हो। धेरै जनसंख्या हुनुको अर्थ खेलाडी छनोट गर्ने ठूलो विकल्प हुनु हो। तर, चीन र भारत जस्ता अर्बभन्दा बढी जनसंख्या भएका देशहरूले अहिलेसम्म कुल मिलाएर केवल एक पटक मात्र विश्वकप खेल्न सकेका छन्।

त्यसैगरी अर्को महत्त्वपूर्ण आधार भनेको खेलाडीहरूको उचाइ हो। अध्ययनका अनुसार गोलकिपरबाहेक अन्य खेलाडीहरूको आदर्श औसत उचाइ १८१ सेन्टिमिटर (करिब ५ फिट ११ इन्च) हुनु उपयुक्त मानिन्छ।

यो उचाइभन्दा धेरै होचा वा धेरै अग्ला खेलाडी भएका देशहरूको प्रदर्शन तुलनात्मक रूपमा कमजोर रहने गरेको देखिन्छ।

खेल संस्कृति र भूगोल
भौगोलिक क्षेत्र र त्यहाँको खेल संस्कृति सबैभन्दा बलियो कारक हो। युरोप र दक्षिण अमेरिकामा फुटबलको गहिरो संस्कृति र उच्च स्तरको प्रतिस्पर्धा छ।

उदाहरणका लागि, भारतमा एशियाकै सबैभन्दा उच्च तहको लाइसेन्स प्राप्त प्रशिक्षकहरू केवल ५० जना जति छन्। तर, भारतको जनसंख्याको ५ प्रतिशतभन्दा पनि कम भएको स्पेनमा २ हजारभन्दा बढी त्यस्ता प्रशिक्षकहरू छन्।

जापान र चीनको फरक रणनीति
विश्वकपको पछिल्ला सिजनहरूको तत्थ्यांक हेर्दा विगतमा सफल भएका देशहरू नै आज पनि सफल देखिन्छन्। तर, यसलाई ताेड्नै नसकिने भने होइन।

यसको सबैभन्दा राम्रो उदाहरण जापान हो। सन् १९९८ भन्दा अघि कहिल्यै विश्वकप नखेलेको जापानले त्यसपछि कुनै पनि विश्वकप गुमाएको छैन।

जापानले सन् १९९२ मा आफ्नो एमेच्योर लिगलाई सुधार्दै ‘१०० वर्षे योजना’ लागू गर्यो, जसको लक्ष्य सन् २०९२ सम्ममा १०० वटा व्यावसायिक फुटबल क्लब स्थापना गर्ने थियो। उनीहरूले सानै उमेरदेखि खेलाडीहरूलाई आधुनिक प्रविधि र जगदेखि नै प्रशिक्षण दिए।

अर्कोतर्फ, चीनले ओलम्पिकमा जस्तै सरकारी नियन्त्रणमा पैसा खन्याएर फुटबल सुधार्न खोज्यो, जुन असफल भयो। फुटबलमा सरकारी आदेश भन्दा पनि स्वतन्त्र निर्णय, रचनात्मकता र ग्रासरुट देखिको बलियो जग आवश्यक पर्ने हुन्छ।

आप्रवासी र डायस्पोराको साथ
आर्थिक रूपमा कमजोर देशहरूका लागि फुटबल सुधार्ने एउटा छिटो तरिका भनेको विदेशमा रहेका आफ्ना नागरिकका छोराछोरीहरूलाई राष्ट्रिय टोलीमा समेट्नु हो।

सेनेगलले आफ्नै देशमा ठूलो पूर्वाधार नभए पनि विशेष गरी फ्रान्सजस्ता युरोपेली देशहरूमा भएका एकेडेमीहरूमा हुर्किएका र तालिम लिएका आप्रवासी खेलाडीहरूलाई समेटेर आफ्नो टोली बलियो बनायो।

यस्तै, क्युरासाओका ९६ प्रतिशत र केप भर्डका ६२ प्रतिशत खेलाडीहरू विदेशमै जन्मिएका हुन्। सन् २०२२ को विश्वकपमा मोरक्को सेमिफाइनलसम्म पुग्ने पहिलो अफ्रिकी टोली बन्यो, जसको २६ सदस्यीय टोलीमध्ये १४ जना खेलाडीहरू विदेशमै जन्मिएका हुन्।

कतिपय देशहरूले विदेशी खेलाडीहरूलाई नागरिकता दिएर आफ्नो टोलीमा खेलाउने गर्छन्। कतार र चीनले यसरी नै ब्राजिलियनसहित धेरै विदेशी खेलाडीहरूलाई आफ्नो टोलीमा समावेश गरेका छन्।

विविधताको फाइदा र चुनौती
टोलीमा सांस्कृतिक र जातीय विविधता हुनुले मैदानमा प्रदर्शन सुधार्न मद्दत गर्छ। फ्रान्सको टोलीमा अधिकांश खेलाडीहरू आप्रवासीका सन्तान छन्। स्पेनका युवा स्टार लामिन यमाल र इङ्गल्याण्डका बुकायो साका पनि आप्रवासी पृष्ठभूमिबाटै आएका हुन्।

तर, यसको एउटा दुःखद पक्ष पनि छ। टोलीले जित्दा आप्रवासी खेलाडीहरूको तारिफ हुन्छ र यसले आप्रवासनप्रति समाजको सोच सकारात्मक बनाउँछ। तर, खेल हार्दा तिनै आप्रवासी खेलाडीहरूले रंगभेदी दुर्व्यवहारको सामना गर्नुपर्ने तीतो यथार्थ पनि भोगिरहेका छन्।

असार ३, २०८३ बुधबार १३:२२:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।