खुकुरी देखाएर युवतीलाई कुटपिट गर्ने युवक लागुऔषधसहित पक्राउ

खुकुरी देखाएर युवतीलाई कुटपिट गर्ने युवक लागुऔषधसहित पक्राउ

दाङ : सामाजिक सञ्जालमा एक युवतीलाई खुकुरी देखाएर यातना दिइरहेको भिडियो सार्वजनिक भएपछि प्रहरीले त्यसमा संलग्न दाङ तुलसीपुरका युवकलाई पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय तुलसीपुरको टोलीले तुलसीपुर उपमहानगरपालिका–२ भमके बस्ने २४ वर्षीय रमेश ठाडामगरलाई उनकै घरबाट पक्राउ गरेको हो।

मङ्गलबार सामाजिक सञ्जालमा भिडियो सार्वजनिक भएलगत्तै खोजीमा जुटेको प्रहरीले उनलाई घरमै बसेको अवस्थामा विभिन्न लागुऔषधसहित फेला पारेको थियो।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक होमबहादुर पराजुलीका अनुसार घरबाट प्रेगामयाक्स एक ट्याब्लेट, ट्रोहमो ४२ ट्याब्लेट, एन्टिकोप दुई ट्याब्लेट र निट्राजोहम पाँच ट्याब्लेट औषधिसहित पक्राउ गरिएको हो।

प्रहरीका अनुसार पीडित युवती र युवकबीच सामान्य चिनजान रहेको र पछि आन्तरिक विवाद बढ्दै जाँदा युवकले खुकुरी देखाएर युवतीलाई यातना दिएको खुलेको हो।  

उक्त घटना करिब तीन महिनाअघि घटेको र सोही समयमा भिडियो खिचिएको भए तापनि गत मङ्गलबार मात्रै सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो।

युवकलाई प्रहरीले लागुऔषध दुर्व्यसनविरुद्ध अनुसन्धान गर्ने जनाएको छ। 

असार ३, २०८३ बुधबार १२:०२:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।