६० हजार घुससहित चावहिल नापी कार्यालयका अमिन नियन्त्रणमा
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय चावहिल (२ नं. नापी टोली) मा कार्यरत अमिन टोप जङ खत्रीलाई ६० हजार रुपैयाँ घुस रकमसहित नियन्त्रणमा लिएको छ।
अमिन खत्रीले जग्गा हालसाविक गरी जग्गाधनी पूर्जा बनाउने कार्य सहज गरिदिने भन्दै सेवाग्राहीसँग घुस माग गरेको उजुरी अख्तियारमा परेको थियो।
सोही सूचना र उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टङ्गालबाट खटिएको टोलीले उनलाई मंगलबार (असार २ गते) नियन्त्रणमा लिएको हो।
उनलाई गोकर्णेश्वर नगरपालिका वडा नं. ४, माकालवारीस्थित नापी कार्यालय परिसरबाट सेवाग्राहीसँग ६० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा रंगेहात नियन्त्रणमा लिइएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए।
नियन्त्रणमा लिइएका अमिन खत्रीमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।
असार ३, २०८३ बुधबार १०:३९:३७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।