भक्तपुर अस्पतालको १२ करोडको रोबटिक टेन्डरको लक्ड स्पेशिफिकेशनमै खरिद अगाडि बढ्यो, १५ दिनमा डेलिभरी दिन २ कम्पनी तयार
काठमाडौं : सामान बुझाउने अस्वाभाविक समय र प्राविधिक स्पेशिफिकेशन राखेर भक्तपुर अस्पतालले अगाडि बढाएको करिब १२ करोडको ‘रोबटिक एसिस्टेड सर्जिकल सिस्टम’का लागि दुई वटा सप्लायर्स कम्पनीले टेन्डर प्रस्ताव गरेका छन्।
उकेरालाई प्राप्त विवरण अनुसार भक्तपुर अस्पतालको ‘रोबटिक एसिस्टेड सर्जिकल सिस्टम’खरिदका लागि काठमाडौं–१०, बुद्दनगर ठेगाना भएको ‘सनराईज सर्जिकल हाउस’र काठमाडौं–११, थापाथली ठेगाना भएको ‘लाइफलाइन ट्रेडर्स प्रालिले टेन्डर प्रस्ताव गरेको हो।
‘रोबटिक एसिस्टेड सर्जिकल सिस्टम’टेन्डर प्रस्ताव गर्ने अन्तिम समय २०८३ असार २ (२०२६ जुन १६) १२ बजेसम्मलाई तोकिएको थियो भने अस्पतालले सोही दिन दिउँसो १२ बजेर १० मिनेटमा टेन्डर खोल्ने समय तोकेको थियो। टेन्डर प्रस्ताव गर्ने अन्तिम मितिमा यी दुई वटा मात्रै सप्लायर्स कम्पनीले टेन्डर प्रस्ताव गरेका हुन्।
भक्तपुर अस्पतालले २०८३ जेठ १२ (२०२६, मे २६) मा ‘रोबटिक एसिस्टेड सर्जिकल सिस्टम’ उपकरण खरिद गर्ने गरी टेन्डर आह्वान गरेर खरिद प्रक्रिया अगाडि बढाएको थियो।
उकेराले जेठ २७ मा भक्तपुर अस्पतालले अगाडि बढाएको ‘रोबटिक एसिस्टेड सर्जिकल सिस्टम’ उपकरण खरिद प्रक्रियाको खरिद मापदण्ड निश्चित कम्पनीको उत्पादकको मात्र योग्य हुनेगरी लक्ड गरिएको विषयमा समाचार सम्प्रेषण गरेको थियो। अस्पतालले खरिद मापदण्ड सुधार गरेको छैन।
प्राविधिक स्पेशिफिकेशन लगायतका मापदण्ड तथा सर्त संशोधन नै नगरी सप्लायर्स कम्पनी र अस्पताल नेतृत्वले मिलेमतो लुकाउने कोसिस गर्दै टेन्डर प्रस्तावको केही रणनीति भने परिवर्तन गरेको देखिएको छ।
उकेराको अध्ययनमा खरिदका लागि बनाइएको स्पेशिफिकेशनका बुँदाहरू चिनिया उत्पादक कम्पनी ‘एज मेडिकल’को मोडल नम्बर ‘एमपी-१०००’ लक्षित गरेर बनाएको खुलेको थियो। यसमा सामान उपलब्ध गराउन राखिएको समय पनि निकै शंकास्पद छ।
चिनिया उत्पादक कम्पनी ‘एज मेडिकल’को नेपाली सप्लायर्समा रन्जित शर्मा र गोकुल पन्त देखिएकोबारे यस अघि नै उकेराले समाचार सम्प्रेषण गरेको थियो। सामान्यतया उनीहरूले टेन्डरमा लाइफ लाइन सर्जिकल नामक फर्म प्रयोग गर्ने गरेका थिए। यसमा अन्य स्थानीय फर्मको नाम समेत प्रयोग गर्न कानुनले रोक्दैन।
जुन फर्म प्रयोग गरे पनि खरिद मापदण्डमा गरिएको लक्डका कारण उपकरण भने चिनिया उत्पादक कम्पनी ‘एज मेडिकल’कै पर्ने सम्भावना हुन्छ।
उकेराले यस अगाडि खरिदमा भएको चलखेलबारे प्रमाणसहित समाचार प्रकाशित गरेको थियो। त्यसपछि स्पेशिफिकेशन उही राखे पनि फर्म भने ‘सनराईज सर्जिकल हाउस’प्रयोग भएको देखिन्छ। ‘सनराईज सर्जिकल हाउस’का सञ्चालक सिताराम कार्की हुन्।
यो खरिद प्रक्रिया आर्थिक वर्ष सकिनु अन्तिम समय पारेर प्रक्रिया अगाडि बढाएर टेन्डर पर्ने कम्पनीले असार २४ सम्ममा उपकरण ल्याइदिनुपर्ने समय तोकिएको छ।
यो उपकरणको प्रकृति अनुसार स्थलमार्गबाट ल्याउनु पर्ने र टेन्डर परेपछि सामान मगाएर यती छोटो अवधिमा उपलब्ध गराउन सम्भव देखिन्न। यस अगाडि यस्तो छोटो समय तोकेर निकालिने टेन्डरमा पहिल्यै लक्ड गरिएको उपकरणको नेपाली सप्लायर्सले उपकरण मगाएर नेपालमा राख्ने र टेन्डर परेपछि सामान उपलब्ध गराउने प्रवृत्ति खुलेको थियो।
एक त छोटो अवधि तोक्दा तोकिएको समयमा उपकरण मगाएर बुझाउन नसक्ने भएकाले अन्य सप्लायर्सहरु प्रतिस्पर्धामा सहभागी हुन्नन्। अर्कोतिर जुन उपकरणको मापदण्ड नै खरिद मापदण्डमा राखेर लक्ड गरिएको हुन्छ उसैले टेन्डर पाउने पक्का हुने भएपछि उसले पहिल्यै उपकरण मगाएर राख्ने गर्छन्। यो खरिद प्रक्रियामा पनि यही शैली अपनाइएको देखियो।
यती छोटो समयमा कसरी सामान उत्पादक कम्पनीबाट नेपाल ल्याएर अस्पताललाई बुझाउन सम्भव हुन्छ भनेर अस्पतालका निमित्त निर्देशक डा. त्रिभुवन चन्द्र झासँग जिज्ञासा राख्दा उनले केही सप्लायर्सले तोकिएको समयमा उपकरण ल्याइदिने बताएको दाबी गरेका थिए। तर कसरी भन्ने उनले खुलाएनन्।
आर्थिक वर्ष २०८२-०८३ बजेटमा ‘सार्वजनिक निजी साझेदारीको अवधारणा अनुसार प्रदेश औषधी उत्पादन केन्द्र र ड्रग एन्ड टक्सिकोलोजी केन्द्र स्थापना गर्न, प्रादेशिक अस्पतालहरूमा विशेषज्ञ तथा विशिष्टीकृत आँखा र रोबटिक शल्यक्रियाका लागि १० करोड विनियोजन’ भएको थियो।
पहिल्यै तोकिएको खरिदको प्रक्रिया भने आर्थिक वर्ष सकिने अन्तिम समयतिर अगाडि बढाइयो। अस्पतालले २०८३ वैशाख १९ गते सूचना प्रकाशित गर्दै तीन दिनको समयसिमा तोकेर ‘रोबटिक सर्जरी’ सम्बन्धी मेसिनका बारेमा विज्ञताको जानकारी वैशाख २२ सम्ममा उपलब्ध गराइदिन सूचना निकालेको थियो।
‘रोबटिक एसिस्टेड सर्जिकल सिस्टम’ उपकरणको टेन्डरको ठेक्का (आइएफबी) नम्बर ‘बीएचबी-जी-एनसीबी-२४-२०८२-८३’ हो। यो खरिदको टेन्डर कागजातमा,‘प्रक्रुमेन्ट अफ रोबटिक एसिस्टेड सर्जिकल सिस्टम, सिंगल-स्टेजः टु इन्भेलोप बिडिङ प्रोसेड्युर, नेश्नल कम्पिटेटिभ बिडिङ (एनसीबी)’ लेखिएको छ।
भक्तपुर अस्पतालको रोबटिक उपकरणको टेन्डर कागजात हेर्दा बागमती प्रदेशको बजेट निर्माणको चरणदेखि टेन्डरको स्पेशिफिकेशन निर्माणको चरणसम्म आइपुग्दा नै निश्चित सप्लायर्स कम्पनीलाई नै टेन्डर दिने मनसाय देखिन्छ।
उपकरण उपलब्ध गराउन तोकिएको असम्भव समयले आपूर्तिकर्ताले खरिद सम्झौता हुनु अगाडि नै उपकरण नेपाल भित्र्याउने प्रक्रिया अगाडि बढाएर वा पहिल्यै नेपाल भित्राएर स्टक राखेर खरिद सम्झौता भएपछि उपकरण दिने रणनीति बनाइएको देखिन्छ।
करिब १२ करोडको टेन्डर जसले पाउँछ उसले असार २४ सम्ममा उपकरण अस्पतालमा बुझाइसक्नु पर्छ। असार दुई गते (जुन १६)सम्ममा टेन्डर प्रस्ताव गर्नुपर्ने र सोही दिन टेन्डर खुल्ने मिति तोकिएको छ।
टेन्डर प्रस्ताव गरिसकेपछि प्रक्रियागत रूपमा प्राविधिक र आर्थिक मूल्याङ्कन गरेर टेन्डर स्वीकृत सहित सम्झौता हुन छिटोमा एक हप्ता समय लाग्ने देखिन्छ। टेन्डर कागजातमा असार २४ भित्र ल्याइदिनुपर्ने राखिएको सर्त अनुसार टेन्डर स्वीकृत भएको करिब १५ दिन भन्दा कम समयमा नै भक्तपुर अस्पतालमा ‘रोबटिक एसिस्टेड सर्जिकल सिस्टम’ उपकरण ल्याउनु पर्ने देखिन्छ।
‘रोबटिक एसिस्टेड सर्जिकल सिस्टम’ उपकरण नेपालमा बन्दैन। यो विदेशबाटै ल्याउने हो। यति छोटो अवधीमा टेण्डर सम्झौतापछि उपकरण विदेशबाट ल्याउन सम्भव छ या छैन भन्नेबारे उकेराले केही सप्लायर्ससँग जानकारीलिँदा उनीहरुले सम्भव नहुने बताए। मिलेमतो नभए सामान्यतया टेन्डर पाएर सम्झौता भएपछि मात्र सप्लायर्स कम्पनीले उपकरण ल्याउने प्रक्रिया अगाडि बढाउने र सामान्य अवस्थामा प्रक्रिया अगाडि बढाएको तीन महिनामा सामान नेपाल ल्याउन सकिने ती जानकारले बताए।
असार २, २०८३ मंगलबार २१:५७:३४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।
भक्तपुर अस्पतालको १२ करोडको रोबटिक टेन्डरमा चिनिया कम्पनीको क्याटलग लक्ड, ‘१५ दिन’मा डेलिभरीको अनौठो सर्त