सरकारी भवनमा रहेका सङ्घसङ्गठनका कार्यालय हटाउन निर्देशन
काठमाडौं : जिल्ला प्रशासन कार्यालय काठमाडौंले जिल्लाका सरकारी निकायमा कार्यरत कर्मचारीआबद्ध सङ्घसङ्गठनका कार्यालयहरू सरकारी भवनबाट हटाउन निर्देशन दिएको छ।
कार्यालयका प्रशासकीय अधिकृत तीर्थराज कटेलले त्यस्ता कार्यालयहरू सात दिनभित्र हटाउन निर्देशन दिइएको जानकारी दिए। मंगलबार जारी गरिएको सूचनामा सरकारी तथा सार्वजनिक भवनभित्र रहेका कर्मचारी आबद्ध विभिन्न गैरसरकारी पेसागत सङ्घ-सङ्गठनका कार्यालय र साइनबोर्ड हटाउन भनिएको छ।
संस्था दर्ता ऐन, २०३४ बमोजिम प्रशासन कार्यालयमा दर्ता भएका यस्ता संस्थाका केन्द्रीयदेखि इकाइ तहसम्मका कुनै पनि कार्यालय वा संरचना सरकारी भवनभित्र भएमा अनिवार्य रूपमा हटाउन निर्देशन दिएको हो।
प्रशासन कार्यालयले संस्था दर्ता ऐन, २०३४ बमोजिम दर्ता भएका कुनै पनि सङ्घसंस्थाहरूका त्यस्ता प्रकृतिका कार्यालयहरू सात दिनभित्र हटाई अन्यत्र निजी वा भाडामा लिइएको भवनमा स्थानान्तरण गरी सोको जानकारी यस कार्यालयलाई दिन भनेको छ।
यस्तै सम्पूर्ण सरकारी कार्यालय तथा सार्वजनिक निकायले पनि यस्ता प्रकृतिका सङ्घसंस्थाको बोर्डहरू तथा संरचनाहरू आफ्नो कार्यालय हाताबाट हटाई यस्ता सङ्घसंस्थाहरूले ओगटेका भाग/क्षेत्रहरू खाली गराउने निर्देशन दिएको छ।
सूचनामा भनिएको छ, "यस सूचनाको अवज्ञा गरी सङ्घसंस्थाका कार्यालयहरू सरकारी कार्यालयका संरचनाहरूमा सञ्चालन गरी राखेको पाइएमा कानुनबमोजिम कारबाही भई जाने व्यहोरासमेत आदेशानुसार अनुरोध छ।"
असार २, २०८३ मंगलबार १९:१४:०५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।