महोत्तरीमा रिङ्कुकुमारी मृत्यु प्रकरण : आत्महत्या दुरुत्साहनमा पति, सासू र ससुरा पक्राउ, दुई फरार
महोत्तरी : महोत्तरीको बर्दिबास नगरपालिका वडा नम्बर १२ डाँडाटोल बिजलपुरामा गत शुक्रबार राति भएको स्थानीय २५ वर्षीया रिङ्कुकुमारी सिंहको मृत्यु प्रकरणमा प्रहरीले परिवारका तीन सदस्यलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा मृतक रिङ्कुका पति शशिकुमार सिंह, ससुरा रामबाबु सिंह र सासू ललितादेवी सिंह रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक पञ्चलाल गोलेले बताए।
पक्राउ परेका तीनै जनालाई प्रहरीले महोत्तरी जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर आत्महत्या दुरुत्साहन मुद्दामा अनुसन्धान अगाडि बढाएको जनाइएको छ।
गत जेठ २९ गते शुक्रबार राति करिब ८ बजे रिङ्कु आफ्नै दुईतले पक्की घरको सुत्ने कोठाको सिलिङ पङ्खामा सलको पासो लगाई झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन्।
गौशाला नगरपालिका–११ बस्ने रिङ्कुका बुबा शत्रुधन महतोका अनुसार पति शशिकाे दोस्रो विवाहपछि घरमा विवाद सुरु भएको थियो। परिवारका सदस्यहरूले रिङ्कुलाई सम्बन्धविच्छेदका लागि निरन्तर दबाब दिँदै आएका थिए। लामो समयदेखि रिङ्कुलाई पटक-पटक कुटपिट, गालीगलौज, शारीरिक यातना र घर निकाला गर्ने धम्की दिइँदै आएकाले यो हत्या भएको माइती पक्षको आरोप छ।
छोरीको मृत्युपछि आक्रोशित बनेका माइती पक्षले रिङ्कुको हत्या भएको भन्दै घरमा तोडफोड र गाडीमा आगजनी समेत गरेका थिए।
मृतकका बुबाले पति, सासू, ससुरासहित नन्द र नन्दका पतिविरुद्ध किटानी जाहेरी दिएका थिए। घटना घटेकै दिनदेखि फरार रहेका पाँच जनामध्ये तीन जना पक्राउ परे पनि नन्द र नन्दका पति अझै फरार छन्। प्रहरीले उनीहरूको खोजतलास भइरहेको जनाएको छ।
असार २, २०८३ मंगलबार १७:३८:४८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।