वनको आम्दानीमा पदाधिकारीको रजाइँ, तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा

वनको आम्दानीमा पदाधिकारीको रजाइँ, तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं : भेरीगंगा नगरपालिका-१३ स्थित साजगोठेरी सामुदायिक वन उपभोक्ता समितिका तत्कालीन तीन पदाधिकारीले वनको आन्तरिक आय र खर्चमा हिनामिना गरी भ्रष्टाचार गरेको खुलेको छ। 

आर्थिक वर्ष २०७७/७८ र २०७८/०७९ मा काठ कटान तथा बिक्री गर्दा पदाधिकारीहरूले आपसी मिलेमतोमा ७ लाख १५ हजार बढी रुपैयाँ भ्रष्टाचार गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालत काठमाडौंमा दायर गरेको आरोप पत्रमा उल्लेख छ।

वन उपभोक्ता समूहका तत्कालीन अध्यक्ष लोक बहादुर महतरा, सचिव मान कुमारी पौड्याल र कोषाध्यक्ष दल बहादुर बुढाविरुद्ध आयोगले भ्रष्टाचारको मुद्दा दायर गरेको हो। उनीहरूले काठ बिक्रीबाट प्राप्त हुनुपर्ने वास्तविक आम्दानीभन्दा ९५ हजार बढी रुपैयाँ कम देखाएको, काठ चिरानी खर्चमा वास्तविक दररेटभन्दा ३ लाख ६६ हजार बढी देखाएको र वन हेरालुको पारिश्रमिकमा समेत ९० हजार रुपैयाँ बढी देखाई झुटा भरपाई बनाएको देखिएको छ। 

यस्तै, सामुदायिक वनको विधान संशोधनका लागि काठमाडौं आउँदा अध्यक्ष महतराले आधारबिना १ लाख २० हजार रुपैयाँ बुझेको र कार्यालयको घरभाडाबापत ५२ हजार रुपैयाँ खर्च देखाई घरधनीलाई ८ हजार मात्र दिएर बाँकी ४४ हजार रुपैयाँ हिनामिना गरेको आयोगको विज्ञप्तिमा उल्लेख छ।

अख्तियारले आरोपितहरूलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरमा सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ (१) को देहाय (घ) बमोजिम कैद सजाय, बिगो बमोजिम जरिवाना र बिगो असुल उपर गर्न मागदाबी गरेको छ।

असार २, २०८३ मंगलबार १५:०९:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।