मन्त्रीहरू अनुपस्थित भएपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित
काठमाडौं : विनियोजन विधेयकमाथिको छलफलमा सम्बन्धित मन्त्रीहरूको उपस्थिति नभएपछि प्रतिनिधिसभाको मंगलबारको बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ।
बैठकमा सम्बन्धित मन्त्री सहभागी नभएको भनी प्रश्न उठेपछि सभामुख डोलप्रसाद अर्यालले बैठक स्थगन गरेका हुन्। प्रधानमन्त्री कार्यालय, राष्ट्रपति तथा उपराष्ट्रपतिको कार्यालयसहित आठ वटा मन्त्रालयको बजेट शीर्षकमाथि छलफल भइरहेको थियो।
तर, छलफलका क्रममा हलमा तीन जना मात्र मन्त्री उपस्थित थिए। नेपाल कम्युनिस्ट पार्टीका सांसद गोपाल शर्माले नियमापत्ति जनाएपछि सभामुख अर्यालले बैठक स्थगित गरे।
शर्माले प्रतिनिधिसभा नियमावलीको नियम ६ को उपनियम ५ को व्यवस्था स्मरण गराउँदै सम्बन्धित मन्त्रीको उपस्थितिबिना सदनको कारबाही अघि बढ्न नसक्ने तर्क गरे। "सरकारले लगातार संसद्लाई हेपिराख्नु हुँदैन। नियमावली अनुसार सदन चलाइयोस्," उनले भने, "सम्बन्धित मन्त्रीलाई बोलाउन रुलिङको माग गर्दछु।"
बैठकमा भौतिक पूर्वाधार मन्त्री सुनिल लम्साल, विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुन र ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठ मात्र उपस्थित थिए। छलफल भइरहेका अन्य पाँच मन्त्रालय तथा निकायका मन्त्रीहरू उपस्थित नभएपछि प्रतिपक्ष दलका सांसदले नियमापत्ति जनाएका थिए।
असार २, २०८३ मंगलबार १४:४१:५८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।