मन्त्रीले रोष्ट्रमबाट सांसद थर्काउने होइन, कानुनअनुसार कारबाही गर्ने हो : सांसद रेखा यादव

मन्त्रीले रोष्ट्रमबाट सांसद थर्काउने होइन, कानुनअनुसार कारबाही गर्ने हो : सांसद रेखा यादव

काठमाडौं : नेपाली कांग्रेसकी सांसद रेखा यादवले मन्त्रीहरूले संसदको रोष्ट्रमबाट सांसदहरूलाई धम्क्याउने र थर्काउने गरेको भन्दै आपत्ति जनाएकी छन्। 

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले मन्त्रीहरूले आफ्नो गल्ती ढाकछोप गर्न र बचाउ गर्नका लागि 'फाइल खोल्ने' धम्की दिने गरेको भन्दै आक्रोश पोखिन्।

मन्त्रीहरूले आफूमाथि प्रश्न उठ्दा संसदमै उभिएर 'फाइल खोल्छु' भन्दै तर्साउन खोजेको भन्दै उनले भनिन्, "अर्थमन्त्रीज्यूको अभिव्यक्तिप्रति घोर आपत्ति जनाउन चाहन्छु। मन्त्रीले रोष्ट्रमबाट सांसदलाई थर्काउने होइन्। देशमा नियम कानुन छ, फाइल खोल्छु भन्दै धम्की दिन मिल्छ? नियम, कानुन अन्तर्गत फाइल खोलेर कारवाही गर्ने हो आफ्नो बचाउको लागि धम्की दिने होइन्।" 

उनले भौतिक पूर्वाधार मन्त्रीले ठेकेदारको 'खुट्टा भाँचिदिने' जस्ता गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै उनले मन्त्रीहरूको पदीय मर्यादामाथि प्रश्न उठाइन्।

यस्तै, सीमा विवादको विषय उठाउँदै यादवले प्रधानमन्त्रीबाट अझै स्पष्ट र ठोस जवाफ नआएको भन्दै असन्तुष्टि व्यक्त गरिन्। उनले यसअघि परराष्ट्रमन्त्रीले दिएको जवाफ ढाकछोप मात्र भएको टिप्पणी गरिन्।

उनले भनिन्, "प्रधानमन्त्रीले दिनुभएको सीमा सम्बन्धी विवादको ठोस् जवाफ कहिले आउँछ? म सरकारसँग माग गर्न चाहन्छु। विगतमा केटाकेटीलाई ललिपप देखाएको जस्तो परराष्ट्रमन्त्रीले हामीलाई जवाफ दिनुभयो। त्यो सबैलाई थाहा छ। ढाकछोप गर्ने काम मात्र भएको हो।"

असार २, २०८३ मंगलबार १२:५५:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।