प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन मागदेखि गोप्य मतदानसम्मको प्रस्ताव

प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन मागदेखि गोप्य मतदानसम्मको प्रस्ताव

काठमाडौं : प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीको सीमासम्बन्धी विवादित अभिव्यक्तिको विरोध गर्दै सांसदहरूले सदनमा निरन्तर जवाफ र स्पष्टीकरण माग गरेका छन्।

जेठ १७ गतेको बैठकमा प्रधानमन्त्रीले दिएको अभिव्यक्तिप्रति कडा आपत्ति जनाउँदै प्रतिपक्षी तथा विभिन्न दलका सांसदहरूले उक्त भनाइ संसद्को रेकर्डबाट हटाउन माग गरेका हुन्। माग पूरा नभए आन्दोलनको स्वरूप परिवर्तन गर्ने चेतावनी समेत सांसदहरूले दिएका छन्।

बैठकमा बोल्दै नेकपाका सांसद प्रमेश हमालले नेपालले भारतको भूमि मिचेको छ भन्ने आशयको प्रधानमन्त्रीको भनाइबारे सरकारसँग स्पष्ट जवाफ माग गरे। प्रधानमन्त्रीको यस्तो अभिव्यक्ति निरन्तर आइरहेको भन्दै उनले केवल विरोध मात्र गरेर नहुने र यस्तो शैली दोहोरिने अवस्थाको अन्त्य हुनुपर्ने बताए।

नेपालको सार्वभौमिकता र सीमा सुरक्षाका विषयमा सरकारको ध्यानाकर्षण गराउँदै सांसद हमालले सुस्तामा भारतीय नागरिक प्रवेश गरेको, दार्चुलाको नेपाली आकाशमा हेलिकप्टर उडेको तथा नेपाली चिया निर्यातमा अवरोध सिर्जना भएको विषय उठान गरे।

उनले त्रिदेशीय सीमासम्बन्धी विषयमा चीनसँग कुरा भए/नभएको विषयमा स्पष्ट जानकारी दिन परराष्ट्रमन्त्रीसँग माग गरे। साथै, संसद्को रेकर्डबाट उक्त विवादित शब्दहरू नहटाइए आन्दोलनको स्वरूप फेर्ने चेतावनी दिँदै उनले सभामुखले यसबारे यथाशीघ्र रुलिङ गर्नुपर्ने माग गरे।

नेपाली कांग्रेसकी सांसद रेखाकुमारी यादवले प्रधानमन्त्रीको विवादित अभिव्यक्तिबारे संसद्मा छिनोफानो गर्न नयाँ प्रस्ताव अघि सारेकी छन्। विगतमा केटाकेटीलाई ललिपप देखाएजस्तो परराष्ट्रमन्त्रीले बोलेर मात्र नहुने र प्रधानमन्त्रीको भनाइमा मन्त्रीले दिएको जवाफ पर्याप्त नहुने उनको तर्क थियो।

सांसद यादवले सदनमा नियम नै मिच्ने हो भने प्रधानमन्त्रीको अभिव्यक्तिप्रति सत्तापक्ष र विपक्षबीच गोप्य मतदान गर्न र त्यसैका आधारमा छिनोफानो गर्न प्रस्ताव गरिन्।

यसैगरी, एमालेकी सांसद टुकाभद्रा हमालले पनि प्रधानमन्त्रीको विवादित अभिव्यक्ति तत्काल संसद्को रेकर्डबाट हटाउनुपर्ने माग दोहोर्याइन्।

श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क साम्पाङले पनि भौगोलिक अखण्डताको रक्षार्थ सभामुख दृढतापूर्वक उभिनुपर्ने विश्वास व्यक्त गर्दै प्रधानमन्त्रीले आफ्नो अभिव्यक्ति अविलम्ब सच्याउनुपर्ने बताए।

साथै, उनले महिनौंदेखि माइतीघरमा अनशनमा बसिरहेकाहरूको माग तत्काल सम्बोधन गर्न माग गर्दै गृहमन्त्रीको ध्यानाकर्षण गराए। फिल्ड भिजिटमा समेत जाने गरेका गृहमन्त्रीले माइतीघरका आन्दोलनकारीको पीडा बुझेर तत्काल माग सम्बोधन गर्नुपर्ने साम्पाङको भनाइ थियो।

असार २, २०८३ मंगलबार १२:३६:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।